नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधारका लागि हालको समय उपयुक्त रहेको बताएका छन्। आज अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले विगतमा दलीय खिचातानीका कारण समयमै नीतिगत निर्णय नहुने गरेको उल्लेख गर्दै, वर्तमान सरकारको नेतृत्वमा नीतिगत सुधार गर्न सहज भएको बताए।
अध्यक्ष ढकालले भने, “पोलिसिहरु सुधारका लागि यो एकदमै राइट टाइम हो। कतिपय विषयमा मन्त्री नै गर्न खोज्दा जानकारी नहुँदा अलमल हुन्थ्यो। अहिले अर्थमन्त्रीको नेतृत्वमा भइरहेको काम धेरै राम्रो छ।”
उनले भन्सारबाट आउने राजस्वलाई प्राथमिकतामा राख्दै उद्यमशीलताको विकासमा असर नगर्ने गरी नीतिहरू अघि बढाउन आवश्यक रहेको बताए। ढकालका अनुसार, होटल र पर्यटनलाई औपचारिक रुपमा उद्योग मान्यता दिइएको भए पनि उद्योगहरूले पाउने सुविधा हाल यी क्षेत्रले पाएका छैनन्। यसलाई कार्यान्वयन गर्न सके उद्यमशीलता प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।
त्यसैगरी, कतिपय विषयमा धितोपत्र बोर्ड मार्फत गरिएको इस्यु सम्बन्धी ध्यानाकर्षण समेत उनले अर्थमन्त्रीलाई गराएका छन्। अध्यक्ष ढकालको धारणा अनुसार, सरकार र उद्योगबीच सहकार्यले नीतिगत सुधार र उद्यमशीलता प्रवद्र्धन दुवैमा योगदान पुग्नेछ।
–न्युज एजेन्सी नेपाल
