होटल एशोसिएसन नेपाल (हान)ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) प्रवर्द्धनका लागि राष्ट्रिय कार्यशाला आयोजना गरेको छ। हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा यस कार्यशालाको जानकारी गराए।
शाहले भने, “नेपाल आउने करिब ९० प्रतिशत विदेशी पर्यटकले नेपाली खाना खोज्ने गर्छन्। त्यसैले हाम्रो परम्परागत खानालाई प्रवर्द्धन गर्न आवश्यक छ। गैरआवासीय नेपाली र विदेशस्थित नेपाली सङ्घसंस्थासँग सहकार्य गर्दै सातै प्रदेशमा खाना महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ।”
पर्यटन क्षेत्रका जानकार अभिषेकविक्रम शाहले नेपालीपन नहराउँदै परिकारलाई विश्वस्तरमा पुर्याउन सेफहरुको भूमिका महत्वपूर्ण रहेको बताए। वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले भने, “भान्सा केवल खाना पकाउने स्थान मात्र होइन, यो देशको संस्कृति, पहिचान र परिकारलाई विश्वसामु चिनाउने मञ्च हो। नयाँ पुस्ताले काममा विश्वास राख्न, अनुशासनमा बस्न र सिकाइलाई कहिल्यै नछाड्नुपर्छ।”
कार्यक्रममा वरिष्ठ सेफहरु श्याम लामा, रत्नबहादुर थापा, जित लामा पाख्रिन, रेशम कुमार तामाङ, र प्रशिक्षक सूर्यकिरण श्रेष्ठले भान्सामा रहेका सेफहरुका लागि अवसर अनन्त रहेको बताए।
यस अवसरमा विभिन्न सम्मान पनि प्रदान गरिएको थियो:
-
‘सेफ कोट’: सज्जनचन्द्र खनाल
-
‘सेलिब्रेटी सेफ’: प्रकाश कटुवाल
-
‘आर्टिस्ट सेफ’: प्रमानन्द कुँवर
-
नेपाली ‘ग्यास्ट्रोनोमी एक्सिलेन्स’: श्याम थापा
-
‘अर्गनाइजेशनल लिडरसीप’: रेशमकुमार तामाङ
भ्वाइस अफ सेफ्सका अध्यक्ष विक्रम गिरीले पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले कार्यक्रम निरन्तर आयोजना गरिँदै आएको जानकारी दिए। यो राष्ट्रिय कार्यशालाले नेपाली परम्परागत खानाको संरक्षण र प्रवर्द्धनमा सेफहरुको योगदानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
