म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष सुन्तलाबाट उत्साहजनक आम्दानी गर्न थालेका छन्। देशका अधिकांश ठाउँमा सुन्तलाका बगैँचा रित्तिँदै गएपछि माघ लागेपछि मात्र सुन्तला टिपेर बजार पठाउने रणनीतिले दोसल्लेका किसानलाई राम्रो मूल्य दिलाएको छ।
स्थानीय किसानले यसपालि बोटमै प्रतिकिलो ८५ रुपैयाँसम्म मूल्य पाएका छन्। यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट (२० किलो) १ हजार ७०० रुपैयाँमा बिक्री हुँदै आएको सुन्तला अहिले प्रतिक्रेट २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। स्थानीय विकास श्रेष्ठका अनुसार किसानलाई सस्तोमा सुन्तला बेच्नुपर्ने अवस्था हटाउन गाउँलेहरू मिलेर न्यूनतम मूल्य निर्धारण गरिएको हो। अन्य क्षेत्रको सुन्तला सकिँदै जाँदा व्यापारीहरू प्रतिक्रेट ३ हजार २०० रुपैयाँसम्म तिर्न तयार रहेको उनले बताए।
बयालिस घरधुरी बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट करिब १ करोड ६० लाख रुपैयाँ भित्रिएको थियो। यस वर्ष दाना केही कम भए पनि मूल्य बढेको र नयाँ बिरुवाले फल दिन थालेकाले समग्र उत्पादन गत वर्षकै हाराहारी हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले बताए। पोखरा र काठमाडौँका व्यापारी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेपछि अहिले गाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ।
दोसल्लेका सबै घरधुरी सुन्तलाखेतीमा संलग्न छन्। सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि गाउँबाट बसाइँसराइ रोकिएको छ। यसअघि बेनी, पोखरा लगायत ठाउँमा बसाइँ सरेका स्थानीय बासिन्दा गाउँ फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपणमा जुटेका छन्। “पहिले गाउँमा जीविकोपार्जन नै कठिन थियो, आम्दानीको स्रोत थिएन,” अध्यक्ष पाइजाले भने, “आज सुन्तलाखेतीले गाउँलेको जीवनस्तर नै बदलिदिएको छ।”
उनका अनुसार दोसल्लेमा हाल करिब १० हजार सुन्तलाका बोट छन्। २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागका विज्ञ बोलाएर माटो परीक्षण गरेपछि व्यवस्थित रूपमा सुन्तलाखेती सुरु गरिएको थियो। परम्परागत रूपमा धान, मकै, कोदो र भटमास लगाइने खेतबारी अहिले सुन्तलाले ढाकिएको छ। नयाँ बोटले निरन्तर फल दिन थालेसँगै आगामी केही वर्षमै गाउँमा सुन्तलाबाट वार्षिक ३ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने स्थानीयको अनुमान छ।
स्थानीय मायादेवी गर्बुजाका अनुसार सुन्तलाबाट राम्रो आम्दानी देखिएपछि किसानहरू परम्परागत अन्नबाली छाडेर व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेका छन्। दोसल्लेको उदाहरणले कृषि व्यवसायले गाउँमै रोजगारी, आम्दानी र समृद्धि सम्भव छ भन्ने सन्देश दिएको स्थानीयवासीको विश्वास छ।
