काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन (एलबीईएफ) का १५० जना विद्यार्थी दीक्षित भएका छन्। राजधानीमा आयोजित दीक्षान्त समारोहमा सन् २०२५ मा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई दीक्षित गरिएको हो।
फाउन्डेशनका अनुसार स्नातक तहअन्तर्गत बीएससी आईटीतर्फ १०२ जना र बीबीएमतर्फ २ जना विद्यार्थी दीक्षित भए। त्यसैगरी स्नातकोत्तर तहमा एमबीएतर्फ २१ जना र एमएससी आईटीएमतर्फ २५ जना गरी कुल १५० जना विद्यार्थीले दीक्षान्त प्राप्त गरेका हुन्। एलबीईएफ एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशन (एपीयू), मलेसियाबाट सम्बन्धन प्राप्त नेपालकै पहिलो सूचना प्रविधि केन्द्रित कलेज हो।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप काठमाडौंमा सम्पन्न दीक्षान्त समारोहमा एपीयूका प्रमुख सञ्चालन अधिकृत गुरपर्दीप सिंह, एलबीईएफ समूहका अध्यक्ष इञ्जिनियर पंकज जालान तथा कार्यकारी निर्देशक इञ्जिनियर प्रकाश कुमार केजरीवालको उपस्थिति रहेको थियो।
समारोहमा कार्यकारी निर्देशक केजरीवालले एलबीईएफको यात्रा निरन्तर विकास र रूपान्तरणको यात्राका रूपमा अघि बढिरहेको उल्लेख गर्दै विद्यार्थीहरू शैक्षिक जीवनबाट व्यावसायिक यात्रातर्फ प्रवेश गरेकोमा गर्व व्यक्त गर्नुभयो। उहाँले एलबीईएफ केवल संस्था मात्र नभई विद्यार्थीको समग्र विकाससँगै अघि बढ्ने साझा प्लेटफर्म भएको बताउनुभयो।
प्रमुख अतिथि गुरपर्दीप सिंहले एपीयू विश्वका उत्कृष्ट २ प्रतिशत विश्वविद्यालयभित्र पर्ने र एसियाका शीर्ष १५० विश्वविद्यालयमध्ये एक रहेको जानकारी दिनुभयो। उहाँले वर्तमान समय तीव्र परिवर्तनको युग भएको उल्लेख गर्दै प्रविधि, विशेषगरी एआईसँग अनुकूलन गर्न सक्ने क्षमता विद्यार्थीका लागि अत्यावश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी अध्यक्ष पंकज जालानले एलबीईएफको २७ वर्षे यात्राको स्मरण गर्दै संस्थाले गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताउनुभयो। महिला शिक्षालाई प्राथमिकता दिँदै १० हजारभन्दा बढीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिएको र सन् २०१७ देखि पूर्ण छात्रवृत्तिमा शिक्षा दिँदै आएको जानकारी पनि उहाँले दिनुभयो।
सन् १९९८ मा स्थापना भएको एलबीईएफले एपीयूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्री प्रदान गर्दै आएको छ। संस्थाले नवीन सोच, व्यावहारिक सीप र उद्योगसँगको सहकार्यलाई प्राथमिकता दिँदै विद्यार्थीलाई रोजगारी बजारका लागि सक्षम बनाउँदै आएको छ।
