प्रभु बैंकको नाफामा दबाब, ब्याज आम्दानीमा सुधार

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा प्रभु बैंकको खुद नाफा वर्षेनी २४.०७ प्रतिशतले घटेको देखिन्छ।

नाफामा गिरावट आए पनि बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ। अघिल्लो वर्ष ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो वर्ष बढेर ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ पुगेको छ।

तर सञ्चालन मुनाफातर्फ दबाब कायम रहेको छ। अघिल्लो वर्ष २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा घटेर १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा बैंकले खराब कर्जा व्यवस्थापनका लागि १ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जसले नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ।

वित्तीय सूचकहरूअनुसार बैंकको प्रतिशेयर आम्दानी (EPS) वार्षिक ८ रुपैयाँ ६२ पैसा कायम भएको छ। बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ सञ्चित छ।

व्यवसाय विस्तारको हिसाबले बैंकले ३ खर्ब ४७ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा अनुपात ७.९४ प्रतिशत रहेको छ भने आधार दर घटेर ५.३६ प्रतिशतमा झरेको छ।

यसैगरी, प्रभु बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) २१.२७ गुणा कायम भएको छ।