सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३६.४० प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंकले ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ५६ करोड ४८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.८४ प्रतिशतले घटेर २ अर्ब ४७ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ रहेको थियो। त्यस्तै, खुद फि तथा कमिसन आम्दानी पनि ८.५२ प्रतिशतले घटेर ६२ करोड ३८ लाख रुपैयाँमा झरेको छ।
बैंकको सञ्चालन मुनाफा घटेर ५० करोड ४१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले खराब कर्जा व्यवस्थापनका लागि ६४ करोड २० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जसले नाफामा थप दबाब सिर्जना गरेको देखिन्छ।
वितरणयोग्य मुनाफाको अवस्था कमजोर देखिएको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १८ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४१ पैसा रहेको छ।
पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ सञ्चित छ। व्यवसाय विस्तारतर्फ बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर ४.४६ प्रतिशत पुगेको छ भने आधार दर ७.३० प्रतिशत कायम भएको छ। समग्र सूचकहरूले सिटिजन्स बैंकको वित्तीय अवस्थामा दबाब बढ्दै गएको संकेत गरेका छन्।
