नेपाल बैंकको नाफामा उछाल

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा नेपाल बैंक लिमिटेडले आफ्नो खुद नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ४६ करोड १० लाख १७ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो। चालु वर्षमा नाफा उल्लेख्य रूपमा बढ्नुको प्रमुख कारण सञ्चालन मुनाफामा आएको ठूलो सुधार र इम्पेयरमेन्ट चार्जमा भएको तीव्र गिरावट हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३९४.६४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर ४७ करोड ९९ लाख २९ हजार रुपैयाँमा सीमित रहेकाले बैंकको नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ।

यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँमा झरेको छ। त्यसैगरी, खुद फि तथा कमिसन आम्दानी पनि १७.१६ प्रतिशतले घटेर ४४ करोड ८४ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ।

वितरणयोग्य मुनाफातर्फ हेर्दा बैंक अझै पूर्ण रूपमा सहज अवस्थामा पुगेको देखिँदैन। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक देखिएको छ।

वित्तीय सूचकहरूअनुसार बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४९ पैसाले वृद्धि भई १७ रुपैयाँ ७६ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १३.५७ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ।

यस अवधिमा बैंकको आधार दर ४.९६ प्रतिशत कायम भएको छ। यद्यपि, बैंकको खराब कर्जा अनुपात भने बढेर ५.३४ प्रतिशत पुगेको छ, जसले कर्जा गुणस्तरमा चुनौती कायमै रहेको संकेत गर्छ।

पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष तथा बचत २३ अर्ब ८६ करोड ७४ लाख ३५ हजार रुपैयाँ पुगेको छ। व्यवसाय विस्तारतर्फ बैंकले ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ३० करोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।