काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार (आज) वित्तीय प्रणालीमा अत्यधिक तरलता नियन्त्रण गर्न २० अर्ब रुपैयाँ निक्षेप तान्दैछ। राष्ट्र बैंकका अनुसार, हाल कुल निक्षेप ७६ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
निक्षेप संकलनको लागि बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोलाउने संस्थाको रकम प्राथमिकतामा राखेर बाँडफाँट गरिनेछ।
बोलकबोल आज अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र निर्धारण हुने ब्याजदर नै निक्षेपको लागि लागु हुनेछ। निक्षेपको सावाँ र ब्याज भुक्तानी २०८३ चैत्र १८ गते हुनेछ। बोलकबोल गर्न सकिने न्यूनतम रकम १० करोड र अधिकतम रकम ५ करोडको बहुगुणितमा हुनेछ।
केन्द्रिय बैंकले आफ्नो खुला बजार कारोबार कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता नियन्त्रण र ब्याजदर व्यवस्थापनका लागि आवश्यक परेको अवस्थामा ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ। यसै कार्यविधि अनुसार राष्ट्र बैंकले पटकपटक वित्तीय प्रणालीमा तरलता व्यवस्थापन गर्दै आएको छ।
– न्युज एजेन्सी नेपाल
