काठमाडौँ । नेपालको समग्र निर्माण क्षेत्रको विकास र प्रविधि आधुनिकिकरणका लागि विगत दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकन को एघारौँ संस्करण यहि माघ २२–२५ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
यस संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड सहभागी हुने अपेक्षा गरिएको छ भने २०० भन्दा बढी स्टलहरुमा निर्माण सामाग्री, सेवाहरू र नयाँ प्रविधिहरु प्रदर्शन हुनेछन्। सहभागी व्यवसायी तथा उद्यमीहरू आफ्नो उत्पादन र सेवा प्रदर्शन गर्न उत्साहित रहेका छन्।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले विगत ११ वर्षदेखि नेपाल बिल्डकनलाई आयोजना गर्दै आएका छन्। प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामाग्री अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने अवसरसहित, अन्तर्राष्ट्रिय बजारमा रहेका नविनतम प्रविधि, सेवा र वस्तुहरू नेपालमा भित्राउने पनि सुविधा उपलब्ध गराइनेछ।
यस वर्ष प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्स्ट्रक्सन केमिकल, पीभीसी/युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट तथा स्टिल लगायतका सम्पूर्ण निर्माण सामाग्री र सेवाहरू उपलब्ध हुनेछन्।
निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, उत्पादक, वितरक, डिजाईनर, ईन्जिनियर, आर्किटेक्ट, निजी तथा व्यवसायिक भवन निर्माणमा इच्छुक व्यक्तिहरूका साथै सर्वसाधारणको पनि उल्लेखनीय उपस्थित रहने अपेक्षा गरिएको छ।
प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको छ।
