चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकले अघिल्लो वर्षको जति वितरणयोग्य मुनाफा आर्जन गर्न नसकेको देखिएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकको वितरणयोग्य नाफा गत वर्षको पुस मसान्तको तुलनामा घटेको छ।
पोहोरको तुलनामा यो वर्ष कुमारी, नबिल, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, एभरेष्ट र माछापुच्छ्रे बैंकले मात्र वितरणयोग्य नाफा बढाउन सफल भएका छन्। तर, यिनमध्ये पनि राष्ट्रिय वाणिज्य र कुमारी बैंकको वितरणयोग्य नाफा अझै ऋणात्मक नै रहेकाले वास्तविक अर्थमा सेयरधनीलाई राहत दिने अवस्थामा भने चार बैंक मात्र पुगेका छन्।
गत वर्ष पुस मसान्तसम्म ७ बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेकोमा यो वर्ष त्यो संख्या ९ बैंकमा पुगेको छ। यसपालि ऋणात्मक सूचीमा थपिने बैंकमा सिटिजन, नेपाल बैंक र लक्ष्मी सनराइज बैंक छन्। यद्यपि, सिद्धार्थ बैंकले अघिल्लो वर्षको ऋणात्मक अवस्थाबाट बाहिर निस्कँदै यो वर्ष धनात्मक विन्दुमा प्रवेश गरेको छ।
यो वर्ष वितरणयोग्य नाफा सुधार गर्ने बैंकमध्ये कुमारी बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको वितरणयोग्य नाफा गत वर्ष पुससम्म करिब ६ अर्ब ५० करोड रुपैयाँ ऋणात्मक रहेकोमा यो वर्ष त्यसलाई ३ अर्ब रुपैयाँ हाराहारीमा झार्न सफल भएको छ। अब सेयरधनीलाई लाभांश दिन मिल्ने अवस्थामा पुग्न बैंकले अझै ३ अर्बभन्दा बढी नाफा थप गर्नुपर्ने अवस्था छ।
उता, सुदृढ प्रदर्शन गर्दै आएको नबिल बैंकले गत वर्षको १ अर्ब ९० करोड रुपैयाँ वितरणयोग्य नाफालाई यो वर्ष ३ अर्ब २७ करोड रुपैयाँ पुर्याएको छ। तर, कम पूँजीमा सञ्चालन हुँदै आएको एभरेष्ट बैंकले भने ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा आर्जन गर्दै ‘नम्बर वान’ स्थान सुरक्षित गरेको छ। गत वर्ष पनि सर्वाधिक वितरणयोग्य नाफा कमाउने बैंक एभरेष्ट नै रहेकाले उसले आफ्नो अग्रता यस वर्ष पनि जोगाउन सफल भएको छ।
गत वर्ष दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकलाई यसपालि नबिलले उछिनेपछि ग्लोबल तेस्रो स्थानमा झरेको छ। ग्लोबलले यो अवधिमा २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा कमाएको छ। सानिमा र नेपाल एसबीआई बैंकले पनि तुलनात्मक रूपमा कम पूँजीका बाबजुद १ अर्ब रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा आर्जन गरेका छन्।
सूचीको पुछारमा भने हिमालयन बैंक रहेको छ, जसको वितरणयोग्य नाफा ९ अर्ब रुपैयाँभन्दा बढी घाटामा छ। यही अवस्थाले गर्दा बैंकले आगामी केही वर्षसम्म लाभांश बाँड्ने सम्भावना न्यून देखिएको छ। एनआईसी एसिया बैंकलाई पनि करिब ७ अर्ब ४० करोड रुपैयाँ घाटा पूर्ति गरेपछि मात्र लाभांश वितरण गर्न सक्ने अवस्थामा पुग्ने देखिन्छ। नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु र कुमारी बैंकको वितरणयोग्य नाफा पनि ३ अर्ब रुपैयाँ वा सोभन्दा बढी ऋणात्मक छ। त्यसैगरी सिटिजन, नेपाल बैंक, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंक पनि तत्काल लाभांश बाँड्ने अवस्थाबाट टाढै देखिएका छन्। सरकारी स्वामित्वका बैंकमध्ये कृषि विकास बैंक मात्रै लाभांश बाँड्न सक्ने अवस्थामा देखिए पनि प्रतिफल भने न्यून छ।
एभरेष्ट बैंक ‘सुपरस्टार’
लगानीकर्ताका लागि बैंकले दिने प्रतिफल सबैभन्दा महत्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा धेरै बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर बराबरको लाभांशसमेत बाँड्न नसकिरहेको अवस्थामा एभरेष्ट बैंकले आफूलाई ‘इन्डस्ट्रीकै सुपरस्टार’का रूपमा उभ्याएको छ। पुस मसान्तको विवरणअनुसार बैंकसँग करिब ३२ प्रतिशतको लाभांश क्षमता देखिएको छ, जुन अघिल्लो वर्ष करिब ३० प्रतिशत थियो।
नबिल बैंकले पनि पोहोरको करिब ९ प्रतिशत लाभांश क्षमतालाई बढाएर यो वर्ष २२ प्रतिशत पुर्याएको छ। सिद्धार्थ बैंकले वितरणयोग्य नाफाका आधारमा करिब ५.५ प्रतिशत प्रतिफल क्षमता देखाए पनि ‘क्यापिटल रिडेम्पसन रिजर्भ’बाट २ अर्ब ७५ करोड रुपैयाँ वितरणयोग्य कोषमा स्थानान्तरण गरेपछि उसको प्रतिफल क्षमता २० प्रतिशतभन्दा माथि पुगेको जनाएको छ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७ प्रतिशतभन्दा माथिको प्रतिफल क्षमता कायम गरेको छ। सानिमा बैंकको करिब १७ प्रतिशत र नेपाल एसबीआई बैंकको १६ प्रतिशत प्रतिफल क्षमता देखिएको छ। ग्लोबल आईएमई बैंकले भने यो वर्ष पनि करिब १२ प्रतिशतको लाभांश क्षमता स्थिर राखेको छ।
एनएमबी, माछापुच्छ्रे र प्राइम बैंकले पनि वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफाका आधारमा केही प्रतिफल बाँड्ने क्षमता देखाएका छन्। यिनमध्ये माछापुच्छ्रे बैंकको प्रगति उल्लेखनीय देखिएको छ। अघिल्लो वर्ष पुस मसान्तसम्म शून्य हाराहारी रहेको यसको प्रतिफल क्षमता यो वर्ष ७ प्रतिशतभन्दा माथि पुगेको छ। उता एनएमबी बैंकको प्रतिफल क्षमता १० प्रतिशतबाट घटेर ५ प्रतिशतमा र प्राइम बैंकको १५ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको छ।
