लोकमान्य गोल्छालाई पोल्यान्डको उच्च सम्मान

नेपालका प्रतिष्ठित उद्योगपति तथा व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारले प्रदान गर्ने प्रतिष्ठित नागरिक सम्मान ‘अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट अफ पोल्यान्ड’बाट विभूषित भएका छन्। गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत समेत हुन्।

बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि गणतन्त्र पोल्यान्डका कार्यबाहक राजदूत डा. पिओत्र स्विताल्स्कीले गोल्छालाई उक्त सम्मान हस्तान्तरण गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै राजदूत स्विताल्स्कीले नेपाल–पोल्यान्ड सम्बन्धका कूटनीतिक, आर्थिक तथा व्यापारिक क्षेत्रहरूमा गोल्छाले पुर्‍याएको असाधारण योगदानको कदरस्वरूप यो पदक प्रदान गरिएको स्पष्ट पारे।

राजदूत स्विताल्स्कीले कोभिड–१९ महामारीका बेला गोल्छाले देखाएको समर्पण, साहस र मानवीय सहयोगको भावना विशेष रूपमा प्रशंसनीय रहेको बताए। उनले गोल्छालाई पोल्यान्डको “असल मित्र”को संज्ञा दिँदै, नेपालमा गोल्छा र उनका मातहतका व्यवसायिक समूहले दिएको योगदानले मुलुकको आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे।

सम्मान ग्रहण गर्दै गोल्छाले उक्त पदकलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाल र पोल्यान्डबीचको दीर्घकालीन मित्रता, सद्भाव र सहकार्यको अर्थपूर्ण प्रतीकका रूपमा लिएको बताए। यो सम्मानले आफूलाई दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै बलियो सहकार्य र गहिरो समझदारी विकास गर्न थप प्रेरणा दिएको उनको भनाइ थियो।

विश्वास, सहकार्य र आपसी सम्मानबाट मात्र दीगो प्रगति सम्भव हुनेमा आफू दृढ रहेको उल्लेख गर्दै गोल्छाले पोलिस मित्र तथा साझेदारहरूसँगको निरन्तर अन्तरक्रियाले आफ्नो विश्वासलाई अझ मजबुत बनाएको बताए। भौगोलिक रूपमा टाढा रहेका नेपाल र पोल्यान्डबीच साझा मूल्य, इमानदारी र एक–अर्काबाट सिक्ने इच्छाका आधारमा सहकार्य सम्भव हुन्छ भन्ने कुरा आफूले प्रत्यक्ष अनुभव गरेको उनले बताए।

गोल्छालाई प्रदान गरिएको यो पदक गणतन्त्र पोल्यान्डका राष्ट्रपतिले प्रदान गर्ने पाँच श्रेणीका नागरिक सम्मानमध्ये चौथो दर्जाको हो। सन् १९७४ मा स्थापना गरिएको यो सम्मान विशेषगरी विदेशी नागरिक वा देशबाहिर रहेर असाधारण योगदान गर्ने पोलिस नागरिकलाई प्रदान गरिँदै आएको छ। अन्तर्राष्ट्रिय सहकार्य तथा पोल्यान्ड र अन्य मुलुकबीचको मित्रवत् सम्बन्ध विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई यो पदक प्रदान गर्ने परम्परा रहेको छ।