एसएमएल इसुजुको नेपालका लागि एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले धादिङवेशीमा आयोजना गरेको निःशुल्क सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले स्थानीय ग्राहकलाई लक्षित गर्दै जनवरी २५ देखि २७ तारिखसम्म सृष्टि मोटर्स प्रा. लि. को परिसरमा उक्त क्याम्प सञ्चालन गरेको हो।
तीन दिनसम्म चलेको सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको कम्पनीले जनाएको छ। क्याम्पमार्फत धादिङ तथा आसपासका क्षेत्रमा एसएमएल इसुजु ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ।
कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका सर्भिस इन्जिनियर मनोज सैनी तथा एसएमएल इसुजु नेपालका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्कासहित अनुभवी सर्भिस इन्जिनियर र मेकानिकहरूको टोलीको उपस्थिति रहेको थियो। उनीहरूले प्रत्यक्ष रूपमा सवारीसाधनको अवस्था जाँच गरी आवश्यक सर्भिस प्रदान गरेका थिए।
निःशुल्क सर्भिसिङसँगै क्याम्पमा ग्राहक सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको थियो। यस क्रममा सवारीसाधनको उचित मर्मत–सम्भार, महत्वपूर्ण पार्टपुर्जाको नियमित हेरचाह, तथा सवारीसाधनलाई दीर्घकालसम्म राम्रो अवस्थामा राख्ने उपायबारे प्रयोगकर्तालाई जानकारी दिइएको थियो।
एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित, भरपर्दो र निरन्तर रूपमा अघि बढाउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले उत्कृष्ट बिक्रीपछिको सेवा, उच्च ग्राहक सन्तुष्टि र दीर्घकालीन विश्वास निर्माणप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै यस्ता सेवा–केन्द्रित कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।
