कोशी पाथिभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिपको तयारी पूरा भइसकेको आयोजक भद्रपुर क्रिकेट क्लबले जनाएको छ ।
१५ वर्षपछि भद्रपुरस्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको हो । कोशी पर्यटन वर्षका अवसरमा प्रदेश सरकारको सहयोगमा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिप बुधवार सुरु हुनेछ।
मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडा अध्यक्ष गौरव सुब्बा (मनोज) का अनुुसार क्रिकेट पिच, मैदान, बाँसे प्यारापिट, स्कोर बोर्ड, पेबिलियन लगायत अन्य तयारीको काम सकिएको छ । ८ हजार दर्शक क्षमताको प्यारापिट बनाइएको छ ।
उद्घाटन खेलसमूह ए का भारतको राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडबीच हुनेछ। त्यस्तै, माघ २२ गते भारतको क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्लीले राइनोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
सोही दिन आयोजक भद्रपुर क्रिकेट क्लबले काठमाडौँको सामना गर्नेछ । माघ २३ गते राइनोल्यान्डविरुद्ध आयोजकले खेल्ने प्रतियोगिता संयोजक मनोजले जानकारी दिए ।
त्यस्तै, सोही दिन काठमाडौँ र न्यु दिल्लीबीच प्रतिस्पर्धा हुनेछ । माघ २४ गते समूह ए को अन्तिम खेल न्यु दिल्लीले भद्रपुरविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
समूह बि को पहिलो खेल माघ २५ गते पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र ग्लोबल स्टार क्रिकेट क्लब लखनाऊबीच हुनेछ । सोही दिन फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग स्नो लायन टिम सिक्किमले प्रतिस्पर्धा गर्ने सुब्बाले बताए ।
त्यस्तै, माघ २६ गते डडेल्धुराले र पोखरको सामना गर्नेछ । सोही दिन लखनाऊ र सिक्किमबीच प्रतिस्पर्धा हुनेछ । समूह बि को अन्तिम दिनको खेल माघ २७ गते डडेल्धुरा र लखनाऊबीच र सिक्किम र पोखराबीच हुनेछ ।
प्रतियोगिताको दुवै सेमिफाइनल खेल माघ २८ र फाइनल माघ २९ गते हुनेछ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा हुनेछ । प्रतियोगितामा ८ वटा टोलीलाई दुई समूहमा विभाजन गरेर लिग ढाँचामा प्रतिस्पर्धा गराइएको हो ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, मेडल र ट्रफी तथा दोस्रो टोलीले ३ लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ११ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले २५ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका सचिव केदार महतले बताए ।
उदयीमान खेलाडीलाई ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रतियोगितामा एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका बेला भारतीय तथा नेपाली खेलाडी तथा अफिसियहरुलाई पर्यटकीय क्षेत्रको भ्रमण पनि गराइने बताइएको छ ।
