धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलमा सवारी दुर्घटनामा परी एकजना प्रहरी असईको मृत्यु भएको छ।
दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
धनुषा प्रहरीले जनाए अनुसार बिहीबार साँझ करिब ६ः२० बजेको समयमा असई सवार प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकललाईमा इटहरीबाट अमलेखगञ्जतर्फ गइरहेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको हो।
ट्यांकरले असईको मोटरसाइकलसहित अन्य एक मोटरसाइकलमा समेत ठक्कर दिएको थियो।
सो दुर्घटनामा मोटरसाइकल चालक, इलाका प्रहरी कार्यालय चित्लाङ मकवानपुर दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैत गम्भीर घाइते भएको थिए।
उचारको क्रममा उनको लालगढस्थित मोडल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।
उनका अनुसार असई फनैत कार्यालयको कामको सिलसिलामा इप्रका भरतपुर धनुषाबाट कार्यालयतर्फ फर्किंदै गरेका थिए।
सोही दुर्घटनामा प्र २–०१–००३ प ९९९३ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–९ निवासी करिब ४५ वर्षीय रामकिशोर महतो गम्भीर घाइते भएको छ। उनलाई थप उपचारका लागि जनकपुरधाम ल्याइएको डीएसपी बमले बताए।
घटनाको जानकारी पाए लगत्तै इप्रका यज्ञभूमि धनुषाबाट गएको प्रहरी टोलीले दुर्घटना गराउने तेल ट्याङ्कर, दुवै मोटरसाइकल तथा ट्याङ्कर चालक सुनसरीको उर्लाबारी नगरपालिका–१ क दुर्गा माझीलाई नियन्त्रणमा लिएको छ।
यसैबीच रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको उक्त दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन् ।
प्रहरीका अनुसार ईशनाथ नगरपालिका वडा नम्बर ४, मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो ।
स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै कार चालकले नै उपचारका लागि गौरस्थित सिटी अस्पताल पु-याएका थिए ।
तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो । प्रादेशिक अस्पतालमा उपचारकै क्रममा दिउँसो २ः४५ बजे बालिकाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घटना लगत्तै प्रहरी टोलीले ठक्कर दिने कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको छ। रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको चुनावी प्रचारको गाडी रहेको बुझिएको छ ।
प्रहरीका अनुसार फरार रहेका चालकको खोजी कार्य तिव्र पारिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव अहिले प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।
