नेपालले इटालीसँग विश्वकपमा लज्जास्पद हार

नेपालले इटालीसँग विश्वकपमा लज्जास्पद हार व्यहोरेको छ।

इटालीका ओपनरद्वय मोस्का दाजुभाइले अविजित साझेदारी गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो हार व्यहोरेको हो।

आज बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपालविरुद्ध इटालीले १० विकेटको कीर्तिमानी जित हात पार्‍यो।

लगातार दोस्रो हारसँगै नेपालको सुपर ८ पुग्ने सम्भावना लगभग सकिएको छ। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो।

विश्वकपमा डेब्यु गरेको इटालीले भने पहिलो जित दर्ता गरेको छ। समूह चरणको पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको इटालीले दोस्रो खेलमा आएर पहिलो जित हात पारेको हो। नेपालमाथिको जितसँगै इटालीको सुपर ८ पुग्ने सम्भावना कायम रहेको छ।

बिहीबारको खेलमा इटालीविरुद्ध नेपाली टोलीले ब्याटिङ र बलिङ दुबैमा सम्झनलायक प्रदर्शन गर्न सकेन। समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले इटालीविरुद्धको पहिलो इनिङसमा बिर्सनलायक प्रर्दशन गर्यो। लामो सट खेल्ने धुनमा रहेका नेपाली ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।

इटालीविरुद्ध ५ बलर प्रयोग गरेको नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन्। बलिङतर्फ ललित राजवंशीले १ ओभरमा १९ रन खर्चिए। दीपेन्द्र सिंह ऐरीले ३।४ ओभरमा २४ रन दिए। करण केसीले २ ओभरमा २१ रन खर्चे। सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन दिए। नन्दन यादवले १ ओभरमा १२ र कुशल भुर्तेलले २ ओभरमा १५ रन खर्चे।

नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य इटालीले ४४ बल अगावै बिना विकेटको क्षतिमा भेट्टायो। पहिलो विकेटका लागि इटालीका जस्टीन मोस्का र एन्थोनी मोस्काले १ सय २४ रनको अविजित साझेदारी गरे। जस्टीन ६० बलमा ५ चौका र ३ छक्का सहयोगमा ६० रनमा नटआउट रहे। एन्थोनी ३२ बलमा ३ चौका र ६ छक्का सहयोगमा ६२ रनमा नटआउट रहेत्यसअघि मुम्बइको वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको नेपाली टोली ३ बल अगावै १ सय २३ रनमा अलआउट भयो।

आरिफ शेखले बनाएको २७ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाउँदा जेजे स्मुथको बलमा क्याच आउट नै भए। करण केसी १८ रनमा अविजित रहे।

१८ बलमा १७ रन बनाएका दीपेन्द्र सिंह ऐरी क्रिसन कालुगामागेको बलमा बोल्ड आउट भए।

२० बलमा २ चौका सहयोगमा २० रन बनाएका ओपनर आशिफ शेख ७।२ ओभरमा वाट मानेन्तीको बलमा विकेटकिपरको हातबाट आउट भए।

सातौँ ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल २३ रनमा क्याच आउट भए। १४ बलमा २ छक्का प्रहार गरेका कप्तान रोहित क्रिसन कालुगामागेको बलमा ग्रान्ट स्टेवार्टको हातबाट क्याच आउट नै भए।

दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल ५ रन बनाउँदै आउट भए। १० बलमा एक चौका हानेका कुशल अली हसनको बलमा जस्टीन मोस्काको हातबाट क्याच आउट हुन पुगे।

सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए। लोकेश बम र गुल्सन झा समान ३ रन बनाउँदा क्याच आउट नै भए। नन्दन यादव र ललित राजवंशी शुन्य रनमा नै रनआउट भए।

लगातार दोस्रो हारसँगै नेपाली टोली अंकविहीन रुपमा समूह सीको पुछारमा झरेको छ। दुई खेलमा एक जित र एक हार भोगेको इटाली २ अंकमा तालिकाको चौथो स्थानमा उक्लेको छ।

लगातार दुई जित निकालेको वेस्ट इन्डिज ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। समान २ अंक भएको स्कटल्यान्ड नेट रनरेटमा अघि रहँदै दोस्रो स्थानमा रहँदा इंग्ल्यान्ड चौथो स्थानमा झरेको छ। नेपालले अब समूह चरणको तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। सो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

समुह चरणको अन्तिम खेलमा आउदो मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका छ।