काठमाडौं । उज्यालो नेपाल पार्टी प्रवास कमिटी यूकेले नेपालका सम्पूर्ण मतदातालाई आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गरी ‘समृद्ध र परिणाममुखी नेपाल निर्माण’ अभियानमा सहभागी हुन अपिल गरेको छ।
यूकेमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट जारी गरिएको अपिलमा देशको वर्तमान राजनीतिक अवस्था, सुशासनको आवश्यकता र सक्षम नेतृत्वको खाँचोबारे स्पष्ट धारणा सार्वजनिक गरिएको छ।
समितिले नेपाल अहिले ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै दशकौँदेखि जारी राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार, बेरोजगारी, युवापलायन र अवसरको अभावले देशको भविष्य नै जोखिममा परेको जनाएको छ।
पूराना राजनीतिक दल र पूरानै सोचले देशलाई सही दिशामा लैजान नसकेको निष्कर्षमा पुगेको जनाउँदै आफूलाई नयाँ भन्ने केही दलसमेत स्पष्ट भिजनभन्दा सस्तो लोकप्रियता र अपारदर्शितातर्फ उन्मुख भएको टिप्पणी गरिएको छ।
यस्तो परिस्थितिमा उज्यालो नेपाल पार्टी आशा, भरोसा र परिणाममुखी राजनीतिसहित नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्न मैदानमा उत्रिएको समितिको दाबी छ। ‘यो खोक्रो नाराको राजनीति होइन, काम गरेर देखाएको नेतृत्वको राजनीति हो,’ अपिलमा उल्लेख गरिएको छ।
पार्टीको नेतृत्व गरिरहेका कुलमान घिसिङलाई समितिले इमानदारिता, दक्षता र राष्ट्रहितप्रति प्रतिबद्धताको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। अन्तरिम सरकारको प्रभावशाली मन्त्री र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा उनले निर्वाह गरेको भूमिकालाई उदाहरण दिँदै वर्षौँदेखि देशले भोग्दै आएको लोडसेडिङ अन्त्य गर्नु केवल प्राविधिक उपलब्धि नभई सुशासन र दृढ इच्छाशक्तिको परिणाम भएको कमिटीले जनाएको छ।
अपिलमा भनिएको छ, ‘आज नेपाललाई बोल्ने होइन, गर्ने नेतृत्व चाहिएको छ । बहाना खोज्ने होइन, समाधान दिने नेतृत्व चाहिएको छ । सत्ताका लागि होइन, सेवाका लागि राजनीति गर्ने संस्कार चाहिएको छ। सीमित स्रोतसाधन र जटिल राजनीतिक परिवेशका बीच पनि राष्ट्रहितलाई प्राथमिकतामा राखेर निर्णय गर्ने नेतृत्व आज देशलाई आवश्यक रहेको छ।’
पार्टीले पारदर्शी शासन प्रणाली, भ्रष्टाचारप्रति शून्य सहनशीलता, रोजगारी सिर्जना, उत्पादनमुखी अर्थतन्त्र, ऊर्जा तथा प्रविधिमा आत्मनिर्भरता, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार र विदेश पलायन रोक्ने स्पष्ट नीति अघि सारेको दाबी गरिएको छ।
यूकेस्थित नेपाली समुदाय लगायत विदेशमा बसोबास गर्ने नेपालीहरूले देशको पीडा र सम्भावना दुवैलाई नजिकबाट देखिरहेको उल्लेख गर्दै रेमिटेन्सले अर्थतन्त्र धाने पनि भावनात्मक दूरी बढ्दै गएको अवस्थालाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। ‘हामीलाई यस्तो नेपाल चाहिएको छ जहाँ युवाले देशमै भविष्य देख्न सकून्, जहाँ श्रमको सम्मान होस् र योग्यताले अवसर पाओस्,’अपिलमा भनिएको छ।
‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै पार्टीले संसारभर रहेका नेपालीलाई नेपालको मानार्थ राजदूत र महत्वपूर्ण स्रोतका रूपमा हेर्ने स्पष्ट पारेको छ। वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन र एनआरएन कार्ड वितरण प्रक्रियामा देखिएका झन्झट हटाई सहज बनाउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ।
त्यस्तै विदेशमा रहेका नेपाली नागरिकलाई संघीय संसदको निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न पहल गर्ने पनि उज्यालो नेपाल पार्टी प्रवास कमिटीले उल्लेख गरेको छ। साथै, ब्रिटिश सेनाबाट अवकाश प्राप्त गोर्खा सैनिकहरूको समान पेन्सनलगायत माग सम्बोधन गर्न बेलायती सरकारसँग कूटनीतिक पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ।
यूके समितिले मतदाताहरूलाई सम्बोधन गर्दै भनेको छ, ‘यो मतदान केवल एउटा पार्टीका लागि होइन, नयाँ राजनीतिक संस्कृतिका लागि हो । यो मतदान इमानदार नेतृत्व र उज्यालो भविष्यका लागि हो।’
‘के हामी फेरि उही पुरानोलाई मौका दिनेरु कि काम गरेर देखाएकालाई देश सुम्पिने ?’ प्रवास कमिटीले प्रश्न गर्दै उज्यालो नेपाल पार्टीलाई नै वर्तमान परिस्थितिमा उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरेको छ।
‘तपाईंको एक मतले देशको दिशा बदल्न सक्छ। इतिहास साक्षी बस्नेछ यो पुस्ताले के रोज्यो भनेर। आउनुहोस्, निराशा होइन, परिवर्तन रोजौँस अन्धकार होइन, उज्यालो रोजौँ,’ अपिलमा भनिएको छ। हालै युकेमा भगवान श्रेष्ठको अध्यक्षतामा उज्यालो नेपाल पार्टी प्रवास कमिटी यूके गठन गरिएको थियो।
