आज काठमाडौँका विभिन्न ठाउँमा चार घण्टा विद्युत् कटौती

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने जनाएको छ।

प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यले बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो।

प्राधिकरणका अनुसार शनिबार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा पनि विद्युत् कटौती हुनेछ। विद्युत् कटौती गरेर त्यहाँ रहेका ११ केभी क्षमताका पोल परिवर्तन गरिने प्राधिकरणले जनाएको छ।

आज बिहान ११ बजेदेखि ३ बजेसम्म ती क्षेत्रमा बिजुली कटौती हुनेछ। बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।