काठमाडौं । राहदानी विभाग ले सार्वजनिक बिदाका दिनसमेत सेवा निरन्तर सञ्चालन गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका अत्यावश्यक सेवाका लागि कार्यालय खुला रहने जनाएको हो।
सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। तर, विभागका अनुसार दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुनेछ।
विभागले आज राहदानी वितरण सेवा उपलब्ध गराउने जनाएको छ भने भोलि बिहीबार राहदानीका लागि आवेदन फारम सङ्कलन गरिनेछ। अत्यावश्यक सेवाको निरन्तरता सुनिश्चित गर्न सार्वजनिक बिदाको दिनसमेत कार्यालय खुला राखिएको विभागले स्पष्ट पारेको छ।
