उद्योग–व्यापार सहकार्यमा मोरङ–चितवन एकजुट

विराटनगर । दुई संस्थापक संघ मोरङ उद्योग व्यापार संघचितवन उद्योग वाणिज्य संघ बीच विराटनगरमा औपचारिक भेटघाट तथा छलफल सम्पन्न भएको छ। मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी को नेतृत्वमा रहेको टोलीले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी नेतृत्वको टोलीलाई संघको कार्यालयमा स्वागत गर्दै द्विपक्षीय छलफल गरेको हो।

सो अवसरमा अध्यक्ष राठीले स्वागत मन्तव्य प्रस्तुत गर्दै मोरङ उद्योग व्यापार संघ र चितवन उद्योग वाणिज्य संघ दुवै नेपाल उद्योग वाणिज्य महासंघ का संस्थापक संघ भएको उल्लेख गरे। निजी क्षेत्रको इतिहासदेखि नै दुवै संघले खेलेको भूमिकाको चर्चा गर्दै उनले साझा एजेन्डामा ऐक्यबद्धता, द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने, निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने, व्यापार प्रवर्द्धन र क्षमता अभिवृद्धिका कार्यक्रम संयुक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। महासंघका दुई संस्थापक संघबीच प्रत्यक्ष भेटघाट र छलफलको अवसर पाएकोमा उनले खुशीसमेत व्यक्त गरे।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य नवीन रिजाल ले समसामयिक आर्थिक अवस्था, राजनीतिक परिस्थिति, लगानी वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती र सुधारका सम्भावनाबारे विस्तृत छलफल गरे। उनले राष्ट्रियस्तरका निजी क्षेत्रका एजेन्डा र नीतिगत सुधार, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूबीच प्रभावकारी सहकार्यका लागि महासंघको नेतृत्व अझ सशक्त बन्नुपर्ने धारणा राखे।

त्यसैगरी, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुवेदीले निजी क्षेत्रका समस्याको समाधानमा मोरङ उद्योग व्यापार संघले विगतदेखि खेलेको नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको बताए। उनले दुवै संघबीचको सहकार्यलाई निरन्तरता दिँदै उद्योग, व्यापार र उद्यमशीलताको दिगो विकासका लागि संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

संघका महासचिव संजय कुमार श्रेष्ठ द्वारा सञ्चालित कार्यक्रममा मोरङ उद्योग व्यापार संघतर्फ अध्यक्ष, निवर्तमान अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, उपाध्यक्षद्वय अनिल सारडा र विकास कुमार बेगवानी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो। चितवन उद्योग वाणिज्य संघतर्फ अध्यक्षसहित निवर्तमान अध्यक्ष सुमन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र वली, कार्यकारिणी सदस्य विष्णु लम्साल र महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान को उपस्थिति रहेको थियो।