आइसीसी टी-२० भारतलाई विश्वकपको उपाधि

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

घरेलु मैदानमा दशौँ संस्करणको आईसीसी टी २० विश्वकपको उपाधि उचाल्दै भारतीय राष्ट्रिय क्रिकेट टोलीले नयाँ कीर्तिमान कायम राखेको छ।

आईतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारतले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकपको उपाधि उचालेको हो।

न्युजिल्यान्डलाई हराउँदा भारतले घरेलु भुमिमा तीन कीर्तिमान आफ्नो नाममा गरेको छ। यस जितसँगै भारत आयोजकले विश्वकपको उपाधि जित्ने पहिलो टोली बनेको छ।

यस्तै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्ने पहिलो टोली पनि बनेको हो। अहिलेसम्म विश्वकपको उपाधि कुनै पनि टोलीले लगातार जित्न सकेका छैनन्।

भारत विश्वकपको तीन उपाधि उचाल्ने पहिलो टोली बनेको हो। भारतले यसअघि सन् २००७ र २०२४ को विश्वकपको उपाधि उचालेको थियो।

इंग्ल्यान्डले सन् २०१० र २०२२ तथा वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को विश्वकप जितेका थिए। पाकिस्तानले सन् २००९, श्रीलंकाले सन् २०१४, अस्ट्रेलियाले सन् २०२१ मा विश्वकपको उपाधि जितेका थिए।

आईतबार राति भारतले दिएको २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो। न्युजिल्यान्डलाई कम स्कोरमा रोक्न जसप्रित बुमराहले ४ विकेट लिए। घातक बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र १५ रन खर्चे।

अक्षर पटेलले ३ विकेट लिए। हार्दिक पाण्ड्या, वरुण चक्रवती र अविशेक शर्माले समान १ विकेट आफ्नो नाममा गरे।

पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको न्युजिल्यान्डले फाइनलमा राम्रो प्रदर्शन गर्न सकेन। न्युजिल्यान्डका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा घरेलु टोलीसामु निरिह देखिए। टोलीका ३ ब्याटरबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

न्युजिल्यान्डका लागि ओपनर टिम साइफेर्टले बनाएको ५२ रन नै सर्वाधिक रह्यो। उनले २६ बलमा २ चौका र ५ छक्का प्रहार गरे।

कप्तान मिचेल सान्टनरले ३५ बलमा ३ चौका र २ छक्का सहयोगमा ४३ रन बनाए। न्युजिल्यान्ड एक समय ८।१ ओभरमा ५(७२ को अवस्थामा थियो।

फिन एलेन ९, रचिन रविन्द्र १, ग्लेन फिलिप्स ५ र मार्क चापमान ३ रनमा पेभेलियन फर्के। डार्ली मिचेले ११ बलमा २ छक्का सहयोगमा १८ रन थपे।

त्यसअघि भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर सञ्जु सामसन र अविशेक शर्माले ७।१ ओभरमा ९८ रनको साझेदारी गरेका थिए। आठौँ ओभरको पहिलो बलमा ओपनर अविशेक २१ बलमा ६ चौका र ३ छक्का सहयोगमा ५२ रन बनाउँदा रचिन रविन्द्रको बलमा क्याच आउट हुन पुगे।

दोस्रो विकेटका लागि सञ्जु र इसान किसानले १ सय ५ रनको साझेदारी गरे। ओपनर सञ्जु ८९ रन बनाउँदा जिम्मी निसमको बलमा क्याच आउट नै भए। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरे।

जिम्मीले १५औँ ओभरमा लगातार तीन विकेट लिँदै भारतलाई दबाबमा राखेका थिए। २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका इसान किसान ५४ रन बनाउँदा जिम्मीको बलमा नै क्याच आउट भए।

हार्दिक पाण्ड्या १८ रनमा पेभेलियन फर्के। शिवम दुवे २६ र तिलक बर्मा ८ रनमा अविजित रहे।

न्युजिल्यान्डका लागि जिम्मी निसमले ३ विकेट लिए। म्याट हेन्री र रचिन रविन्द्रको नाममा समान एक विकेट रह्यो।