काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले दोलखा जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। सो आईपीओमा आवेदन दिने निर्धारित समयसीमा आज चैत १ गते बैंकिङ समयपछि समाप्त हुने कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले आवेदन दिने म्याद चैत १२ गतेसम्म थप गर्ने तयारी गरेको थियो। तर अपेक्षाभन्दा बढी आवेदन परेकाले आईपीओ निष्काशन प्रक्रिया निर्धारित समयमै बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ। लगानीकर्ताको उच्च आकर्षण देखिएकाले कम्पनीले पूर्व निर्धारित समयभन्दा अगावै बिक्री बन्द गर्ने तयारी गरेको हो।
कम्पनीले आफ्नो कुल ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। सोही अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याइएको हो।
यस आईपीओमा विशेष गरी दोलखा जिल्लाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
इच्छुक स्थानीय लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
