श्रीलङ्कामा इन्धनका लागि क्युआर दर्ता अनिवार्य

काठमाडौं । श्रीलङ्काको ऊर्जा मन्त्रालयले आज बिहान ६ बजेदेखि इन्धन प्राप्त गर्न सबै सवारी साधनहरूलाई क्युआर कोड प्रणालीमा दर्ता अनिवार्य गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार अबदेखि वैध रूपमा दर्ता गरिएको क्युआर कोड नभएका सवारी साधनहरूलाई देशका कुनै पनि इन्धन फिलिङ स्टेशनबाट इन्धन उपलब्ध गराइने छैन।

मध्यपूर्व क्षेत्रमा जारी सैन्य तनावका कारण विश्वव्यापी इन्धन आपूर्ति मार्गमा अवरोध उत्पन्न भएपछि श्रीलङ्कामा इन्धनको माग अचानक बढेको सरकारी अधिकारीहरूले बताएका छन्। यही अवस्थालाई ध्यानमा राख्दै आन्तरिक माग व्यवस्थापन गर्न सरकारले कडा कदम चाल्नुपरेको जनाएको छ।

सरकारी पक्षका अनुसार सीमित इन्धन भण्डारलाई जोगाउँदै देशका अत्यावश्यक आर्थिक गतिविधिहरूलाई निरन्तरता दिनका लागि यस्तो व्यवस्थापन आवश्यक भएको हो।

ऊर्जा मन्त्रालयले बजारमा इन्धनको अवैध भण्डारण र कालोबजारी बढेका कारण पनि मागमा अस्वाभाविक वृद्धि भएको उल्लेख गरेको छ। नयाँ क्युआर कोड प्रणालीमार्फत यस्ता गतिविधिलाई नियन्त्रण गर्दै सर्वसाधारणलाई न्यायोचित रूपमा इन्धन वितरण गर्ने लक्ष्य राखिएको मन्त्रालयको भनाइ छ।

यस प्रणालीले इन्धन वितरणलाई व्यवस्थित बनाउँदै देशको आर्थिक स्थिरता कायम राख्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यसअघि सन् २०२२ मा आएको चरम आर्थिक संकटका बेला पनि श्रीलङ्काले इन्धन कोटा प्रणाली सञ्चालन गर्न क्युआर कोड प्रयोग गरेको थियो। अहिले पुनः आपूर्तिमा समस्या देखिन थालेपछि सरकारले त्यही प्रभावकारी उपायलाई पुनः लागू गरेको हो।