कस्तुरी फर्मास्युटिकल्सको आईपीओ तयारी

चितवन । चितवनको भरतपुरमा अवस्थित कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १६ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता शेयर जारी गर्न यसै चैत मसान्तभित्र नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको जनाएको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडलाई नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ। हाल ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आईपीओ निष्कासनपछि कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ।

इन्फोमेरिक्स नेपालले कस्तुरी फर्मास्युटिकल्सलाई ‘बीबी माइनस’ (BB-) क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय अवस्था सुदृढ र जोखिम अपेक्षाकृत न्यून रहेको संकेत गर्दछ। आर्थिक वर्ष २०८१ पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.९३ रुपैयाँ रहेको जनाएको छ।

कम्पनीले विगतमा आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गरिसकेको र आगामी दिनमा पनि लाभांश वितरणलाई निरन्तरता दिने लक्ष्य राखेको जनाएको छ।

विगत १३ वर्षदेखि औषधि उत्पादन गर्दै आएको कस्तुरी फर्मास्युटिकल्स ‘डब्लुएचओ–जीएमपी’ (WHO-GMP) र ‘आईएसओ ९००१’ (ISO 9001) प्रमाणित उद्योग हो। करिब १ बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको यस उद्योगले हाल १८२ भन्दा बढी औषधि उत्पादनको अनुमति पाएको छ। कम्पनीले १२५ भन्दा बढी प्रकारका औषधिहरू देशभरका बिक्री डिपोमार्फत बजारमा उपलब्ध गराइरहेको जनाएको छ।

कम्पनीको नेतृत्व यस क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका कार्यकारी अध्यक्ष प्रवेश खनाल र प्रबन्ध निर्देशक ईश्वर भण्डारीले गरिरहेका छन्। कम्पनीले आफ्नो ऋण भारलाई उल्लेख्य रूपमा घटाएर हाल २४ करोड रुपैयाँमा सीमित राखेको पनि जनाएको छ।

आईपीओ निष्कासनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र नयाँ शेयरधनी लगत प्राप्त भएपछि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरिएको कम्पनीले जनाएको छ।