काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन टेक्नो स्पार्क गो ३ सार्वजनिक गरेको छ। कम्पनीले दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी तथा कामकाजी पुस्तालाई लक्षित गर्दै यो स्मार्टफोन बजारमा ल्याएको जनाएको छ।
मोबाइल सार्वजनिक कार्यक्रममा टेक्नो मोबाइलका प्रमुख कार्यकारी अधिकृत Arijit Talapatra ले नेपाली युवा उपभोक्ताको दैनिक गतिसँग मेल खाने प्रकारको स्मार्टफोनको आवश्यकता महसुस गर्दै यसलाई नेपाली बजारमा उपलब्ध गराइएको बताए।
उनका अनुसार स्पार्क गो ३ बलियोपन, बुद्धिमत्ता र भरोसायोग्य कनेक्टिभिटीसहितको फोन हो, जसको डिजाइन प्रयोगकर्ताको जीवनशैलीसँग मेल खाने गरी तयार गरिएको छ। कम्पनीले ‘अत्ति नै बलियो’ भन्ने अवधारणाअनुसार यो फोन सुरुदेखि नै स्थायित्व र आत्मविश्वास प्रदान गर्ने गरी निर्माण गरिएको जनाएको छ।
कम्पनीका अनुसार स्पार्क गो ३ दैनिक प्रयोगका चुनौतीहरू सामना गर्न सक्षम बनाइएको छ। यसमा आइपी ६४ स्तरको धुलो तथा पानीका छिटाबाट सुरक्षा सुविधा र ड्रप–रेडी टिकाउ डिजाइन समावेश गरिएको छ, जसले विद्यालय, कार्यस्थल, डेलिभरी मार्ग वा व्यस्त शहरका सडकमा प्रयोग गर्दा प्रयोगकर्तालाई भरोसा दिलाउने कम्पनीको दाबी छ।
यस स्मार्टफोनमा १२० हर्ज सुपर स्मुथ डिस्प्ले उपलब्ध रहेको छ, जसले स्क्रोलिङलाई सहज, टचलाई छरितो र दृश्य अनुभवलाई प्रिमियम बनाउने बताइएको छ। साथै टेक्नो एआई भ्वाइस असिस्टेन्ट र नो नेटवर्क कम्युनिकेशन २.० जस्ता सुविधाले नेटवर्क कमजोर वा उपलब्ध नभएको स्थानमा पनि सञ्चार सम्भव बनाउने कम्पनीले जनाएको छ।
स्पार्क गो ३ नेपालभरका प्रमुख रिटेल स्टोरहरूमा मार्च १३ देखि उपलब्ध हुने बताइएको छ। यसको मूल्य ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टका लागि १५ हजार ९९९ रुपैयाँ र ४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टका लागि १६ हजार ९९९ रुपैयाँ तोकिएको छ।
यो स्मार्टफोन गाढा खरानी, गाढा कालो, आकाशी निलो र बैजनी गरी चार फरक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार स्पार्क गो ३ दैनिक जीवनका आवश्यकताका लागि तयार गरिएको शक्तिशाली तथा भरोसायोग्य उपकरण हो, जसले प्रयोगकर्ताको जीवनलाई अझ सहज र आत्मविश्वासी बनाउने विश्वास गरिएको छ।
