ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा फागुन महिनामा भक्तजनले चढाएको भेटीबाट रु ३१ लाख १० हजारभन्दा बढी सङकलन भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक Prajina Hangbang का अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीले रोहबरमा सङ्कलन गर्ने गर्छन्। सङ्कलित भेटीलाई सुरक्षित पोकामा राखी मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ।
फेदीमा करिब एक सातासम्म सङ्कलन गरिएको भेटी त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ। कार्यालयमा दैनिक रूपमा प्रहरी र सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको छ।
सार्वजनिक तथ्याङ्क अनुसार फागुन महिनामा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरामा पुगेका छन्। पाथीभरा धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य भएकोले वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन यहाँ दर्शन गर्न आउँछन्।
