लिलाम सम्पत्तिमा सहज पहुँच, अनलाइन पोर्टल सुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड ले आफ्ना बैंकिङ्ग, गैर बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकद्वारा सञ्चालनमा ल्याइएको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण विवरणहरू एकै स्थानबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकहरूले लिलाम सूचना प्रकाशनमा समावेश गरिएको क्यूआर कोड स्क्यान गरी पोर्टलभित्र प्रवेश गर्न सक्नेछन्।

उक्त पोर्टलमा लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसमेत समेटिएको छ, जसले ग्राहकलाई सम्पत्तिको यथार्थ जानकारी लिन सहज बनाउने बैंकले जनाएको छ।

त्यसैगरी, ग्राहकहरूले आफूले खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी लिन चाहेमा सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर तथा सम्पर्क ठेगाना उल्लेख गरी सिधै बैंकसँग सम्पर्क गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।

बैंकका अनुसार उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलामयोग्य सम्पत्तिहरूका साथै लिलामसम्बन्धी अन्य सूचनाहरू अद्यावधिक गरिनेछ।

यस पहलले लिलाम प्रक्रियालाई थप पारदर्शी, सरल र पहुँचयोग्य बनाउने विश्वास बैंकले व्यक्त गरेको छ। साथै, खरिदमा रुचि राख्ने ग्राहकहरूले पोर्टलमार्फत सम्पत्तिको विस्तृत जानकारी लिएर लाभ लिन सक्ने बैंकको अपेक्षा रहेको छ।