वित्तीय शिक्षामा विद्यार्थी उत्साह, नबिलको अभियान तीव्र

गोरखा । नबिल बैंक ले ग्लोबल मनी विक अन्तर्गत देशका विभिन्न स्थानमा विद्यार्थी तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ।

सोही अभियानअन्तर्गत सोमबार गोरखास्थित श्री सरस्वती माध्यमिक विद्यालय मा आयोजित कार्यक्रममा विद्यार्थीहरूले बैंकिङ प्रणाली, डिजिटल कारोबार, साइबर सुरक्षा लगायतका विषयमा व्यवहारिक जानकारी प्राप्त गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आधुनिक बैंकिङसँगै दैनिक जीवनमा उपयोगी हुने ज्ञान सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन्। कक्षा १२ की छात्रा लक्ष्मी श्रेष्ठले बचतको महत्त्व, सुरक्षित रूपमा पैसा राख्ने तरिका तथा विश्वसनीय संस्थामा मात्रै रकम जम्मा गर्नुपर्नेबारे जानकारी पाएको बताइन्। उनले दर्ता नभएका संस्थामा पैसा राख्नु जोखिमपूर्ण हुने कुरा आफूलाई विशेष रूपमा उपयोगी लागेको उल्लेख गरिन्।

विद्यार्थीहरू कार्यक्रमभर सक्रिय रूपमा सहभागी हुँदै विभिन्न जिज्ञासा राखिरहेका थिए। डिजिटल कारोबार गर्दा अपनाउनुपर्ने सुरक्षा उपायप्रति उनीहरूको विशेष चासो देखिएको थियो। मोबाइलमा रहेका व्यक्तिगत तथा संवेदनशील विवरणको सुरक्षाबारे जानकारी दिँदा विद्यार्थीहरूले गम्भीरतापूर्वक ध्यान दिएका थिए। मोबाइल मर्मतका क्रममा सिम कार्ड नछोड्नुपर्ने जस्ता महत्वपूर्ण जानकारी पनि कार्यक्रममा समेटिएको थियो।

यसैगरी, कक्षा १२ का छात्र अनीश खत्रीले वैदेशिक आम्दानी सुरक्षित रूपमा पठाउने तरिका र लगानीसम्बन्धी आधारभूत ज्ञान सिक्न पाएकोमा सन्तुष्टि व्यक्त गरे। कार्यक्रममा सहभागी अधिकांश विद्यार्थीहरूले कर्जा प्रक्रिया, धितो व्यवस्थापन तथा वित्तीय योजना सम्बन्धी प्रश्नहरू राखेका थिए।

यस वर्ष ग्लोबल मनी विक चैत २ देखि ८ गतेसम्म ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइँदैछ। उक्त अभियानमार्फत नबिल बैंकले देशभरका करिब १ सय ९० विद्यालयमा पुगेर १५ हजारभन्दा बढी विद्यार्थीहरूलाई वित्तीय शिक्षाबारे सचेत गराउने लक्ष्य राखेको छ।