बजार अनुगमन सक्रिय, कारबाहीबाट सुधार संकेत

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरीत गतिविधि गरेको अभियोगमा तीन कम्पनीलाई जरिवाना गरेको छ।

विभागको स्थलगत अनुगमनका क्रममा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोर लाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी काठमाडौंको बबरमहलस्थित किराना घर ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड सप्लायर्स लाई समान ५–५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

विभागका अनुसार यी फर्महरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको हो।

यसैक्रममा विभागले थप १९ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। पछिल्ला दिनहरूमा बजारमा देखिएका गैरकानुनी गतिविधि नियन्त्रण गर्न विभागले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।

विभागले उपभोक्ताको अधिकार संरक्षण र स्वस्थ बजार प्रणाली कायम गर्न यस्ता कारबाहीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।