काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकता औपचारिक रूपमा त्याग्न चाहने नागरिकहरूको लागि लाग्ने शुल्क करिब ८० प्रतिशतले घटाएको छ। नयाँ नियमअनुसार शुल्क २,३५० डलरबाट घटेर ४५० डलर कायम गरिएको छ। यो निर्णय अमेरिकी नागरिकता त्याग्न चाहने विभिन्न समूहहरूसँगको लामो कानुनी लडाइँपछि आएको हो।
मन्त्रालयले गत शुक्रबार ‘फेडरल रजिस्टर’मा अन्तिम नियम प्रकाशित गर्दै शुल्क कटौतीको जानकारी दिएको छ। नयाँ शुल्क शुक्रबारदेखि लागू भएको छ। यो दर सन् २०१० मा तोकिएको सुरुवाती शुल्ककै बराबर हो।
नागरिकता त्याग्ने प्रक्रिया जटिल मानिन्छ। यसका लागि आवेदकले विदेश मन्त्रालयका कन्सुलर अधिकारीसमक्ष लिखित र मौखिक रूपमा प्रक्रिया र परिणामबारे बुझेको पुष्टि गर्नुपर्छ। त्यसपछि मात्र औपचारिक शपथ लिन अनुमति दिइन्छ र मन्त्रालयले अन्तिम समीक्षा गर्छ।
यसअघि सन् २०१५ मा शुल्क ४५० डलरबाट बढाएर २,३५० डलर पुर्याइएको थियो। विदेशमा बस्ने अमेरिकीहरूका लागि नयाँ कर रिपोर्टिङ नियम लागू भएपछि नागरिकता त्याग्ने संख्या बढ्दा प्रशासनिक खर्च धान्न शुल्क वृद्धि गरिएको थियो।
फ्रान्सस्थित ‘एसोसिएसन अफ एक्सीडेन्टल अमेरिकन्स’ जस्ता समूहहरूले उच्च शुल्कको विरोध गर्दै अदालतमा मुद्दा दायर गरेका थिए। उक्त समूहले विशेष गरी अमेरिकामा जन्मिएका तर हाल विदेशमा बसोबास गर्ने नागरिकहरूको प्रतिनिधित्व गर्छ र नागरिकता त्यागमा शुल्क नलाग्ने तर्क राखेको थियो।
अदालतमा दिइएको जानकारी अनुसार, सन् २०२३ मा शुल्क घटाइने घोषणा भएयता कम्तीमा ८,७५५ अमेरिकीहरूले २,३५० डलर तिरेर नागरिकता त्यागिसकेका छन्। तथापि, विदेश मन्त्रालयले हालसम्म कुल नागरिकता त्याग गर्ने संख्या सार्वजनिक गरेको छैन।
