नयाँ अवसर र आर्थिक सुधारमा निजी क्षेत्रको भूमिका स्पष्ट

काठमाडौं । “परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशा निर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा” विषयमा अन्तरक्रिया कार्यक्रम होटल एभरेस्ट, नयाँ बानेश्वरमा सम्पन्न भएको छ। शिव प्रसाद घिमिरे समूहको आयोजनामा सम्पन्न कार्यक्रममा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या र आर्थिक सुधारका सम्भावित उपायबारे वृहत छलफल भएको थियो।

कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट आएको परिवर्तित जनादेशको पृष्ठभूमिमा देशको अर्थतन्त्रको भावी दिशा, चुनौती र अवसरबारे गहन छलफल भएको थियो। निजी क्षेत्रको भूमिका, सरकारसँगको सहकार्य र आर्थिक सुधारका आवश्यक नीतिगत कदमबारे सरोकारवालाबीच विस्तृत विचार–विमर्श भएको थियो।

स्थल यातायात तथा पारवहन समिति नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् सभापति शिव प्रसाद घिमिरेले निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व संकलनमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताए। तर नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता, लगानीमैत्री वातावरणको अभाव र वित्तीय पहुँचमा कठिनाइले निजी क्षेत्रलाई अपेक्षित रूपमा अघि बढ्न रोक्दै आएको उनले बताए।

घिमिरेले नयाँ सरकारसँग लगानी सुरक्षा, कर प्रणाली सुधार, उद्योग सञ्चालनमा सहजीकरण र पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा राखे। अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै उत्पादनमुखी क्षेत्र प्रवद्र्धन, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा ध्यान दिन आवश्यक रहेको उनले औँल्याए।

कार्यक्रममा डा. विश्वास गौचन ले “मध्यपूर्वको युद्ध र दुई तिहाइ बहुमतको सरकारलाई सुझाव” विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको ऋण व्यवस्थापन, आर्थिक संरचना र दीर्घकालीन सुधारका कदमको रूपरेखा प्रस्तुत गरे। उनले निजी क्षेत्रलाई सुदृढ बनाउँदै सरकार–निजी क्षेत्र सहकार्यलाई प्रभावकारी बनाउने आवश्यकता औँल्याए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल ले राजनीतिक स्थिरता र लगानी सुरक्षा सुनिश्चिततामा सकारात्मक संकेत आएको बताए। महासंघका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अन्जन श्रेष्ठ ले सुझाव संकलन गरी आगामी नीति निर्माण र सरकारसँगको संवादमा प्रयोग हुने जानकारी दिए।

कार्यक्रमले देशको अर्थतन्त्रलाई दिगो, प्रतिस्पर्धी र उत्पादनमुखी बनाउने दिशामा निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सन्देश दियो। सहभागहरूले नयाँ सरकारसँग आर्थिक सुधार, सुशासन र पारदर्शिता सुनिश्चित गर्न निजी क्षेत्रको सक्रिय भूमिका अपेक्षित रहेकोमा जोड दिए।

कार्यक्रम दिउँसो ३ बजे सुरु भई स्वागत मन्तव्य, मुख्य सत्र र बन्द सत्र छलफल गरी सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान र पूर्व पदाधिकारी, जिल्ला र नगर उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।