धनुषामा युवामहिलाको आर्थिक सशक्तिकरण अभियान सुरु

काठमाडौँ । मेटलाइफ फाउन्डेसन ले प्लान इन्टरनेशनल नेपाल सँग सहकार्य गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका र शहीदनगर नगरपालिकामा युथ इकोनोमिक एम्पावरमेन्ट प्रोजेक्टको दोस्रो चरण सुरु गरेको छ।

यो परियोजना विशेष गरी सीमान्तकृत युवाहरू, विशेषगरी युवा महिलाहरूलाई सम्मानजनक र दिगो जीविकोपार्जनका अवसरमा पहुँच बढाउन केन्द्रित छ। अमेरिकी डलर ८०,००० सहयोगमा सञ्चालन हुने यो पहलले युवा बेरोजगारी, संरचनात्मक लैङ्गिक अवरोध र वित्तीय पहुँचको सीमितता जस्ता चुनौतीहरू सम्बोधन गर्ने लक्ष्य राखेको छ।

परियोजनाले युवाहरूको वित्तीय तथा डिजिटल साक्षरता सुदृढ गर्दै उनीहरूलाई सूचित आर्थिक निर्णय लिन, डिजिटल भुक्तानी प्रयोग गर्न र औपचारिक बैंकिङ सेवासँग जोडिन सक्षम बनाउनेछ। बैंक, लघुवित्त संस्था र डिजिटल सेवा प्रदायकहरूसँगको सहकार्यले सुरक्षित वित्तीय उपकरणहरूमा पहुँच विस्तार गर्नेछ। साथै अभिभावक, सामुदायिक अगुवा र स्थानीय जनप्रतिनिधीहरूलाई सक्रिय रूपमा संलग्न गराई महिला आर्थिक सहभागिता बढाउने प्रयास गरिनेछ।

यो पहल अन्तर्गत कृषि प्रशोधन, पर्यटन र प्रविधि क्षेत्रमा बजारसँग मेल खाने व्यावसायिक तालिम प्रदान गरिनेछ। वैदेशिक रोजगारी चाहने युवाहरूका लागि प्रस्थानपूर्व तालिम र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीप प्रमाणिकरणको व्यवस्था समेत गरिनेछ। परियोजनाले लचिलो तालिका, सुरक्षित यातायात र बाल हेरचाह सुविधा पनि प्रदान गर्दै सहभागीलाई सहज बनाउनेछ।

एक वर्षको अवधिमा परियोजनाले धनुषाका २०० भन्दा बढी युवालाई प्रत्यक्ष सहयोग गर्ने लक्ष्य राखेको छ। १२० जनाले डिजिटल तथा वित्तीय साक्षरता तालिम, ७० जनाले व्यावसायिक वा सुरक्षित वैदेशिक रोजगारी तालिम प्राप्त गर्नेछन्। साथै ७० भन्दा बढी अभिभावक, रोजगारदाता र स्थानीय सरकार प्रतिनिधिहरूलाई पनि सहभागी गराइनेछ।

मेटलाइफ फाउन्डेसन १९७६ मा स्थापना भएको गैर–नाफामुखी संस्था हो, जसले आर्थिक सशक्तिकरण, वित्तीय स्वास्थ्य र लचिलो समुदायका क्षेत्रमा योगदान गर्दै आएको छ। प्लान इन्टरनेशनल नेपाल १९७८ देखि नेपालमा बालबालिका, विशेष गरी केटीहरूको अधिकार र समानतामा काम गर्दै आएको छ।