पालुङटार । ग्लोबल मनी वीक २०२६ को “Smart Money Talks” नाराका साथ पालुङटारमा वित्तीय साक्षरता र्याली तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम पालुङटार क्षेत्रका सबै बैंक र वित्तीय संस्थाहरूको संयुक्त आयोजनामा सञ्चालन भएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य वित्तीय सचेतना अभिवृद्धि गर्नु, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग बढाउनु र बढ्दो डिजिटल जोखिमप्रति जनचेतना फैलाउनु रहेको थियो। र्यालीमा सहभागीहरूले वित्तीय अनुशासन, बचतको महत्व, सही लगानी अभ्यास, र डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा उपायहरूबारे जानकारी लिएका थिए।
स्थानीय समुदायको उल्लेखनीय सहभागितासहित सम्पन्न उक्त र्यालीले नागरिकहरूलाई सचेत, जिम्मेवार र सुरक्षित आर्थिक व्यवहारतर्फ प्रेरित गरेको छ। यस्ता पहलहरूले व्यक्तिलाई ठगी, दुरुपयोग र आर्थिक जोखिमबाट जोगिन मद्दत गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
ग्लोबल मनी वीक विश्वव्यापी अभियान हो, जसले विशेष गरी युवालाई वित्तीय ज्ञान, सीप र व्यवहारमा सशक्त बनाउन केन्द्रित छ। आजको डिजिटल युगमा वित्तीय साक्षरता आवश्यक भइसकेको सन्दर्भमा यस्ता कार्यक्रमहरूले समुदायस्तरमा वित्तीय समझदारी र दीर्घकालीन आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
