मेची भन्सारको राजस्व उत्साहजनक प्रगति

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु ११ अर्ब ५८ करोड ६ लाख ३० हजार राजस्व सङ्कलन गर्न सफल भएको छ। यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६.०६ प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। उनले जानकारी दिएअनुसार फागुन महिनामा मात्रै रु १ अर्ब ६५ करोड ८० लाख ४ हजार राजस्व सङ्कलन भएको छ, जुन उक्त महिनाको लक्ष्यको ११०.२६ प्रतिशत हो।

राजस्व सङ्कलनको विवरणअनुसार आठ महिनामा भन्सार महसुल शीर्षकमा रु ४ अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल निर्यात शीर्षकमा रु २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा रु ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्क शीर्षकमा रु ६ लाख २९ हजार तथा कृषि सुधार शुल्क शीर्षकमा रु १० करोड ९६ लाख सङ्कलन भएको छ।

त्यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा रु २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा रु ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार कर शीर्षकमा रु १ अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर (वैदेशिक उत्पादन) शीर्षकमा रु १ लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा रु ४ अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा रु १३ करोड २३ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ।

कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको सूचना अधिकारी हुमागाईले जानकारी दिएका छन्।