बेनी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मौका

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १ गतेदेखि पहिलो चरणअन्तर्गत उक्त समूहका लागि शेयर बिक्री खुला गरेको थियो।

कम्पनीले प्रथम चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज चैत ५ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् भने आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आवेदन अवधि चैत १५ गतेसम्म कायम रहेको छ।

आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीले कुल २० लाख ८० हजार कित्ता शेयर बराबर २० करोड ८० लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने योजना बनाएको छ। अनुमति पश्चात कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्कासन गर्नेछ।

यस आइपीओको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटलले सम्हालेको छ।