मध्यपूर्व तनावले रुसलाई तेलबाट लाभ

काठमाडौँ । मध्यपूर्वमा इरान, इजरायल र अमेरिकाबीच बढ्दो सैन्य तनावका कारण विश्व तेल बजारमा अस्थिरता बढ्दा रुसले अप्रत्याशित आर्थिक लाभ लिन सफल भएको छ। इरानले विश्वकै महत्वपूर्ण तेल मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध सिर्जना गरेसँगै आपूर्ति संकट उत्पन्न हुँदा रुसी कच्चा तेलको माग र मूल्य दुवैमा उल्लेख्य वृद्धि भएको हो।

सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि पश्चिमी प्रतिबन्धले दबाबमा परेको रुसी अर्थतन्त्रका लागि अहिलेको परिस्थिति ‘आर्थिक अक्सिजन’ सावित भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘फाइनान्सियल टाइम्स’ का अनुसार हाल रुसले तेल बिक्रीबाट मात्रै दैनिक करिब १५ करोड अमेरिकी डलर (२० अर्बभन्दा बढी नेपाली रुपैयाँ) अतिरिक्त आम्दानी गरिरहेको छ।

द्वन्द्व सुरु भएको पहिलो १२ दिनमै रुसले करिब १.९ अर्ब डलर थप कर राजस्व संकलन गरिसकेको छ। यही अवस्था कायम रहेमा महिनाको अन्त्यसम्म ५ अर्ब डलरसम्म अतिरिक्त आम्दानी हुने अनुमान गरिएको छ।

‘स्ट्रेट अफ हर्मुज’ इरान र ओमानबीच अवस्थित विश्वकै महत्वपूर्ण ऊर्जा मार्ग हो, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने गर्छ। हालको तनावका कारण यस मार्गबाट ट्याङ्कर आवतजावत प्रभावित हुँदा खाडी क्षेत्रबाट हुने निर्यातमा अवरोध आएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार मार्च महिनामा विश्व बजारमा दैनिक ८० लाख ब्यारेल तेल अभाव हुन सक्ने आँकलन गरिएको छ, जसले ब्रेन्ट क्रुडको मूल्यलाई प्रतिब्यारेल १०० डलर नजिक पुर्‍याएको छ। यसको प्रत्यक्ष फाइदा रुसलाई पुगेको छ।

पश्चिमी देशहरूले यसअघि रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने प्रयास गरेका थिए। तर हालको संकटले उक्त सीमा प्रभावहीन बनेको छ। केही समयअघि ५२ डलरमा झरेको ‘उराल्स क्रुड’ को मूल्य अहिले बढेर करिब ८० डलर पुगेको छ।

विश्लेषकहरूका अनुसार तेलको मूल्यमा हुने प्रत्येक १० डलरको वृद्धिले रुसी निर्यातकर्ताको आम्दानीमा २.८ अर्ब डलर वृद्धि गर्छ, जसको ६० प्रतिशतभन्दा बढी हिस्सा सिधै सरकारी राजस्वमा जाने गर्दछ।

खाडी क्षेत्रबाट आपूर्ति प्रभावित भएपछि भारत र चीनले रुसी तेल आयात उल्लेख्य रूपमा बढाएका छन्। पछिल्लो तथ्यांकअनुसार यी दुई देशको रुसी तेल आयात २२ प्रतिशतले वृद्धि भएको छ। भारतले मात्रै दैनिक १५ लाख ब्यारेल तेल आयात गरिरहेको छ, जुन अघिल्लो महिनाभन्दा ५० प्रतिशतले बढी हो। केही कारोबारमा रुसी तेल ब्रेन्टभन्दा पनि महँगोमा बिक्री भइरहेको देखिएको छ।

रुसको अर्थतन्त्रका लागि यो लाभ महत्वपूर्ण समयमा आएको छ, जब ऊर्जा राजस्वमा करिब ५० प्रतिशत गिरावट आएको थियो। अहिलेको मूल्य वृद्धिले राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धकालीन बजेट सञ्चालन तथा युक्रेन विरुद्धको सैन्य खर्च व्यवस्थापन गर्न सहज बनाएको छ।

हाल रुस ‘ओपेक प्लस’ कोटाभन्दा दैनिक करिब ३ लाख ब्यारेल कम उत्पादन गरिरहेको छ। यदि मध्यपूर्वको तनाव लामो समयसम्म कायम रह्यो भने उत्पादन वृद्धि गरेर थप आम्दानी गर्ने सम्भावना पनि रहेको छ।

यद्यपि, विज्ञहरूले यो लाभ दीर्घकालीन नभई अस्थायी हुन सक्ने चेतावनी दिएका छन्। ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल आपूर्ति पुनः सामान्य अवस्थामा फर्किएमा मूल्य घट्न सक्नेछ। तर हालका लागि भने मध्यपूर्वको तनाव रुसी अर्थतन्त्रका लागि अवसरको रूपमा देखिएको छ।