काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच कतारको प्रमुख ग्यास केन्द्र ‘रास लाफान’ मा इरानी क्षेप्यास्त्र प्रहार हुँदा व्यापक क्षति पुगेको छ। घटनापछि कतार सरकारले त्यहाँ कार्यरत इरानी सुरक्षा तथा सैन्य सहचारीहरूलाई देश छोड्न निर्देशन दिएको छ।
यसैबीच, इरानी आक्रमणको प्रभाव क्षेत्रीय ऊर्जा संरचनामा समेत परेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले अबुधाबीस्थित हबसान ग्यास उद्योग बन्द गरेको जनाएको छ भने साउदी अरबले आफ्ना दुई तेल प्रशोधन केन्द्रमा आक्रमण भएको पुष्टि गरेको छ। रियादले इरानप्रति बाँकी रहेको विश्वास पूर्ण रूपमा समाप्त भएको टिप्पणी गरेको छ।
यी घटनाक्रमहरू इजरायलले इरानको उत्तरी बन्दर अन्जालीस्थित नौसेना अड्डा तथा दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण गरेपछि थप चर्किएका हुन्। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यस घटनाले अनियन्त्रित परिणाम निम्त्याउन सक्ने र त्यसको असर विश्वव्यापी हुन सक्ने चेतावनी दिएका छन्।
यसै क्रममा इजरायलमाथि इरानले गरेको प्रतिशोधात्मक आक्रमणमा तेलअभिभ र कब्जा गरिएको वेस्ट बैंक क्षेत्रमा चार जनाको मृत्यु भएको खबर आएको छ।
मध्यपूर्वको पछिल्लो अवस्था ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
