नेपाल बैंकको कर्जा सहुलियत योजना सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरूलाई राहत प्रदान गर्ने उद्देश्यले विशेष कर्जा मिलान तथा ब्याज सहुलियत योजना सार्वजनिक गरेको छ। ‘नेपाल बैंक कर्जा मिलान प्रस्ताव’ नाम दिइएको यो कार्यक्रममार्फत बैंकले निष्क्रिय तथा खराब कर्जालाई व्यवस्थापन गर्दै ग्राहकलाई आर्थिक रूपमा पुनर्स्थापित गर्न सहयोग गर्ने लक्ष्य लिएको छ।

यस योजनाअन्तर्गत बैंकले कर्जाको अवस्था र अवधिका आधारमा ऋणीहरूलाई दुई मुख्य वर्गमा विभाजन गरी सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ।

पहिलो वर्गअन्तर्गत चैत २०७९ अघि ‘खराब’ वा ‘नोक्सानी’ वर्गमा परेका कर्जाहरू समावेश गरिएका छन्। यसमा अधिकतम १ करोड रुपैयाँसम्मका कर्जाधनीहरू सहभागी हुन सक्नेछन्। यस्ता ऋणीहरूले २०८३ असार मसान्तसम्म कर्जा मिलान गर्न सक्नेछन् र उनीहरूलाई ब्याज तथा जरिवानामा उल्लेख्य छुट दिइनेछ। यसले ऋणीलाई न्यून रकम तिरेर कर्जा दायित्वबाट मुक्त हुने अवसर दिनेछ।

दोस्रो वर्गअन्तर्गत २०८० वैशाख १ पछि निष्क्रिय वा सक्रिय अवस्थामा रहेका कर्जाहरूलाई नियमित गर्न सकिनेछ। यसका लागि २०८२ चैत मसान्तसम्मको समय तोकिएको छ। समयमै मूलधन र बाँकी ब्याज भुक्तानी गर्ने ऋणीहरूलाई ब्याजमा सहुलियत प्रदान गरिनेछ, जसले उनीहरूको वित्तीय भार घटाउनेछ।

यस योजनाबाट लाभ लिन इच्छुक ऋणीहरूले सम्बन्धित शाखामा गई आफ्नो खाताको विवरण लिनुपर्नेछ। त्यसपछि ‘ब्याज सहुलियत योजना २०८२/८३’ अन्तर्गत लिखित निवेदन दिनुपर्नेछ। बैंकले सहुलियत रकम निर्धारण गरेपछि तोकिएको समयभित्र भुक्तानी गरेमा ‘नो ड्युज सर्टिफिकेट’ प्रदान गरिनेछ।

यस कार्यक्रमले ऋणीहरूलाई कालोसूचीबाट हट्ने, भविष्यमा पुनः कर्जा लिन योग्य बन्ने तथा कुल दायित्व घटाउने अवसर दिनेछ। बैंकका लागि भने यसले खराब कर्जा घटाउने, नगद प्रवाह बढाउने तथा वित्तीय सन्तुलन सुधार गर्ने अपेक्षा गरिएको छ।

बैंकले उच्च ब्याजदर र कमजोर बजार अवस्थाका कारण प्रभावित भएका व्यवसाय तथा व्यक्तिहरूलाई लक्षित गर्दै यस्तो योजना ल्याएको जनाएको छ। यस कदमलाई समग्र बैंकिङ क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा समेत हेरिएको छ।