एनआइसी एसियाको डिजिटल लिलामी प्लेटफर्म सुरु

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो आधिकारिक अनलाइन लिलामी पोर्टल सार्वजनिक गरेको छ। ‘एनआइसी एशिया अनलाइन अक्सन’ नाम दिइएको यो डिजिटल प्लेटफर्ममार्फत बैंकले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति (एनबीए) तथा धितोमा रहेका जग्गा–जमिन र सवारी साधनहरूको विवरण एकै स्थानमा उपलब्ध गराउने भएको छ।

बैंकका अनुसार यस प्लेटफर्मले परम्परागत झन्झटिलो लिलामी प्रक्रियालाई विस्थापित गर्दै पारदर्शी, सहज र प्रयोगकर्ता मैत्री प्रणालीमार्फत स्वदेश तथा विदेशबाट समेत इच्छुक खरिदकर्तालाई सम्पत्तिबारे जानकारी लिन सहज बनाउने लक्ष्य राखेको छ।

यस पोर्टलमा प्रत्येक सम्पत्तिसँग सम्बन्धित वास्तविक तस्बिर, गुगल म्यापमार्फत स्थान जानकारी, कित्ता नम्बर, क्षेत्रफल (बिघा/कट्ठा/धुर वा रोपनी/आना) तथा क्याडस्ट्रल नक्सा जस्ता प्राविधिक विवरण समावेश गरिएको छ। साथै, बैंकले प्रकाशित गर्ने लिलामी सूचनामा क्यूआर कोड राखिएको हुन्छ, जसलाई स्क्यान गर्दा सम्बन्धित सम्पत्तिको विस्तृत विवरण सोझै पोर्टलमा हेर्न सकिने व्यवस्था गरिएको छ।

पोर्टललाई बैंकिङ एसेट, नन–बैंकिङ एसेट र क्रेडिट अक्सन गरी तीन मुख्य वर्गमा विभाजन गरिएको छ। प्रयोगकर्ताले सम्पत्तिको प्रकार (जग्गा, घर, अपार्टमेन्ट वा सवारी साधन) र स्थान (प्रदेश वा जिल्ला) अनुसार खोजी गर्न सक्नेछन्। साथै, प्रत्येक सूचीमा राखिएको ‘मेसेज बक्स’ मार्फत इच्छुक व्यक्तिले आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी थप जानकारी माग्न सक्नेछन्, जसको जवाफ बैंकको सम्बन्धित टोलीले दिनेछ।

हाल पोर्टलमा देशका विभिन्न स्थानका सम्पत्तिहरू लिलामीका लागि उपलब्ध छन्। धनुषाको जनकपुरधाम–५, चितवनको भरतपुर–६, सिराहा र महोत्तरीका गोलबजार तथा बलवा नगरपालिका क्षेत्रका जग्गा–जमिन तथा घरहरू सूचीमा समावेश छन्। यसका अतिरिक्त अशोक लेल्यान्ड ट्रकजस्ता व्यावसायिक सवारी साधनहरू पनि लिलामीमा राखिएका छन्। अधिकांश लिलामी प्रक्रिया चैत २३ देखि २५ गतेभित्र सम्पन्न हुने तालिका रहेको छ।

बैंकले यो पहलमार्फत दोस्रो बजारका सम्पत्तिहरूमा पारदर्शिता वृद्धि, बिचौलियाको भूमिका न्यूनीकरण तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरेको छ। साथै, खराब कर्जा व्यवस्थापन र नगद प्रवाह सुधार गर्न पनि यो प्लेटफर्म प्रभावकारी हुने विश्वास बैंकको छ।

एनआइसी एशिया बैंकको यो डिजिटल पहललाई नेपालको बैंकिङ क्षेत्रमा प्रविधिमैत्री रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।