पुस्तक जलाउने घटनाबारे छानबिन समिति गठन

मोरङ । मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य रहेका छन्।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार समितिलाई घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। समितिले आजैदेखि काम सुरु गरेको र प्रतिवेदनपछि वास्तविक अवस्था स्पष्ट हुने उनले बताए।

घटनाबारे सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा पुस्तक जलाइएको देखिएपछि चिनियाँ दूतावासले चासो व्यक्त गर्दै परराष्ट्र मन्त्रालयमार्फत लिखित ध्यानाकर्षण गराएको थियो। त्यसपछि सरकारले औपचारिक रूपमा छानबिन प्रक्रिया अघि बढाएको हो।

यसैबीच मनमोहन प्राविधिक विश्वविद्यालयले भने घटनासँग आफ्नो नाम जोडेर आएका विभिन्न सूचना र तस्वीरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सिभिल इन्जिनियरिङ विभागका नयाँ प्रयोगशाला स्थापना गर्ने क्रममा पुराना सामग्री हटाउने प्रक्रिया गरिएको स्पष्ट पारेको छ।

विश्वविद्यालयका अनुसार लामो समयदेखि प्रयोगमा नआएका, कवाडी अवस्थामा रहेका तथा मक्किएका केही पुस्तकहरू सरसफाइका क्रममा नष्ट गरिएको हो।