काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ। कम्पनीले यसका लागि विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेको जनाएको छ।
टेलिकमका अनुसार चालु आर्थिक वर्षको साउनपछि मात्रै लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवा प्रदायक तथा पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवा प्रदायकसँग रोमिङ सेवा विस्तारका लागि सम्झौता गरिएको हो।
यसअघि नै नेपाल टेलिकमले अष्ट्रेलिया, अमेरिका, भारत, चीन, जापान, कतार, साउदी अरेबिया, युएईलगायत विभिन्न देशहरूमा रोमिङ सेवा उपलब्ध गराउँदै आएको थियो। हाल यो सेवा भ्वाइस, डाटा र एसएमएसका लागि प्रयोग गर्न सकिन्छ।
कम्पनीका अनुसार प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सक्रिय हुने सुविधा रहेको छ। भारतका लागि भने 14157# डायल गरी मेनुबाट रोमिङ विकल्प छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ।
पोस्टपेड प्रयोगकर्ताका हकमा सेवा सक्रिय गर्न कम्तीमा ५ हजार रुपैयाँ ब्यालेन्स आवश्यक रहनेछ। प्रयोगकर्ताले नेपालमै रहँदा वा विदेशबाट पनि इमेल तथा आवश्यक कागजात पठाएर रोमिङ सेवा सक्रिय गर्न सक्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा जोडिनेछ। यदि स्वतः कनेक्ट नभएमा मोबाइल सेटिङमार्फत म्यानुअल रूपमा नेटवर्क छनोट गर्न सकिनेछ।
नेपाल टेलिकमले विदेशमा रहेका वा जाने नेपालीलाई लक्षित गर्दै यो सेवा विस्तारलाई महत्वपूर्ण कदमका रूपमा लिएको छ। आगामी दिनमा थप देशमा पनि रोमिङ सेवा विस्तार गरिने कम्पनीको योजना छ।
