चार दिनदेखि सुनुवाइ भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दुई वटा कसुर फिर्ताविरुद्धको रिट अझै अनिर्णित भएको छ।
सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासले चार दिनको सुनुवाइपछि आज बिहीबार महान्यायाधिवक्ताले अभियोगपत्र संशोधन सम्बन्धी गरेको पछिल्लो निर्णय लगायत सम्बन्धित फायल झिकाउन आदेश दिएको हो।
सुरुमा लामिछानेको मात्रै अभियोगपत्र संशोधन गरेर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुर हटाउने निर्णय गरेको महान्यायाधिवक्ताको कार्यालयले माघ २ गते उनीसँग जोडिएका सहकारीका सबै प्रतिवादीविरुद्ध सहकारी ठगी बाहेकका कसुरमा अभियोग नलगाउने निर्णय गरेको थियो।
यो निर्णयको प्रति मिसिलमा संलग्न रहेको नदेखिएको भन्दै इजलासले पछिल्लो निर्णय र यससँग सम्बन्धित अन्य कागजातहरू भए ती पनि मगाएर चैत ९ गतेलाई पेसी तोक्न आदेश दिएको हो।
अब यो बाहेकको इजलासले सुनुवाइ गर्न सक्नेछ। यो इजलासका न्यायाधीश पोखरेलले विगतमा लामिछानेकै पक्षबाट बहस गरेको भन्दै उनले यो रिटको सुनुवाइ गर्न नमिल्ने निवेदकको माग थियो। तर न्यायाधीश पोखरेल इजलासबाट अलग नहुने निर्णयसहित सुनुवाइ अगाडि बढाएका थिए।
चार दिन दुवै पक्षबाट बहस पनि भएको थियो। आज मात्रै रिट निवेदकको तर्फबाट जवाफी बहस सकिएको थियो।
