रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा भगवानपुर टोलस्थित भित्री सडक खण्डमा अमेरी मस्जिदबाट कबरी स्थानतर्फ जाँदै गरेको ना ६ त ५४४० नम्बरको ट्याक्टर अनियन्त्रित भएको थियो ।
दुर्घटनामा परी मामाघरमा बसिरहेका ८ वर्षीय बालक शेख सादिकको मृत्यु भएको हो । भारतको मोतिहारी जिल्ला घर भएका सादिक स्थानीय शेख ममताज मुसतुफा (मामा) को घरमा बस्दै आएका थिए ।
शेख वजिलको घरमा खेलिरहेको अवस्थामा ट्याक्टरले ठक्कर दिँदा सादिकको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइए पनि चिकित्सकले दिउँसो ३ः१५ बजे मृत घोषणा गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन् । उनको पहिचान खुल्न बाँकी रहेको र खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।
