सर्वोच्च अदालतको नेतृत्व अब वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले गर्ने भएकी छन्। मल्लले भोली बुधबारदेखि कायममुकायम-कामु प्रधानन्यायाधीशका रूपमा काम गर्ने भएकी हुन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आज मंगलबारदेखि अवकाश भए।
राउत न्यायाधीश ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश भएका हुन्। राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। त्यसको ८ वर्ष पहिले उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए। त्यसअघि उनी वरिष्ठ अधिवक्ता थिए।
योसँगै सपना सर्वोच्चको नेतृत्व गर्ने दोस्रो महिला न्यायाधीश हुने भएकी छन्। यसअघि सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्।
सपनाले तत्काललाई भने कामु प्रधानन्यायाधीशका रूपमा काम गर्नेछिन्।
नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायापरिषद्को बैठकले सपनासहित ६ जना न्यायाधीशको नाम सिफारिस गरिसकेको छ।
तर अहिले संवैधानिक परिषद्मा सदस्यहरू रिक्त रहेकाले तत्कालै प्रधानन्यायाधीश नियुक्तीको सम्भावना छैन। प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र सर्वोच्च अदालतका प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ।
बिहीबार नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक बस्दै छ।
त्यसपछि मात्रै सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ।
यता विपक्षी दलको नेता कांग्रेसबाट रहनेछन्। तर हालसम्म कांग्रेसले संसदीय दलको नेता चयन गरिसकेको छैन।
मल्लले सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेपछि झण्डै तीन वर्ष नेतृत्व गर्नेछिन्।
२०८५ कात्तिक ३० गतेसम्म उनी सेवामा रहनेछिन्।
मल्ल २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्।
प्रधानन्यायाधीश नियुक्त नहुन्जेल उनले बुधबारदेखि कामु प्रधानन्यायाधीशका रूपमा काम गर्नेछिन्।
