अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । बोन्डीको स्थानमा उनका पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्चलाई नियुक्त गरिने भएको छ ।
यो जानकारी ट्रम्प आफैंले ट्रुथ सोसल सामाजिक सन्जालमार्फत् दिएका हुन् ।
बोन्डी ट्रम्प प्रशासनकी लामो समयदेखि निकट सहयोगी र कट्टर समर्थक मानिन्थिन् । ट्रम्प प्रशासनबाट पदमुक्त गरिएकी उनी दोस्रो उच्च अधिकारी हुन् । यसअघि मार्चमा गृह सुरक्षा प्रमुख क्रिस्टी नोमलाई पदमुक्त गरिएको थियो ।
पदमुक्त भएपछि बोन्डीले महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्न पाउनु ‘जीवनकै ठूलो सम्मान’ भएको भन्दै अब आफ्नो जिम्मेवारी ब्लान्चलाई हस्तान्तरण गर्ने बताएकी छन् । साथै, निजी क्षेत्रमा पनि ट्रम्प प्रशासनका पक्षमा काम जारी राख्ने उनको भनाइ छ ।
यसैबीच इरानसँगको जारी युद्धका बीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ र्यान्डी जर्जलाई राजीनामा दिन भनेका छन् ।
पेन्टागनका मुख्य प्रवक्ता सिन पार्नेलले सामाजिक सञ्जालमार्फत् जर्ज अमेरिकी सेनाको ४१ औं चिफ अफ स्टाफको पदबाट निवृत्त हुन लागेका जानकारी दिएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
