अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद पुगेको छ।
बीबीसी अनुसार पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको बताएको छ।
इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारले देशको नुर खान विमानस्थलमा स्वागत गरेका छन्।
स्वागतमा पाकिस्तानका राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर र आन्तरिक मन्त्री सैयद मोहसिन रजा नक्वी पनि उपस्थित थिए।
इरानका अनुसार इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन्।
वार्ता टोलीमा इरानका विदेशमन्त्री अब्बास अराघची, रक्षा परिषद् सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती र इरानी संसद्का सदस्य पनि छन्।
उता अमेरिकी वार्ता टोलीको नेतृत्व भने अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले गर्दै छन्।
यसैबिच इरानका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ताका लागि लेबननमा युद्धविराम र इरानको फ्रिज गरिएको सम्पत्ति फिर्ता गरिनुपर्ने सर्त राखेका छन्।
उनले भनेका छन्, ‘यी दुवै कुरा पहिले नै सहमति भइसकेको छ तर अझै कार्यान्वयन भएको छैन।’
गत मंगलबार राति अमेरिका र इरानबिच २ साताका लागि भएको युद्धविरामपछि पनि इजरायलले लेबननमा भीषण हवाई हमला गरिरहेको छ।
जसले गर्दा इरान र अमेरिकाबिच युद्धविराम लेबननमा पनि हो वा होइन भन्ने विषयमा विवाद भइरहेको छ।
यसैबिच शुक्रबार लेबननको राष्ट्रपति कार्यालयले दक्षिणी सहर नाबाटियाहमा इजरायलले आक्रमण गर्दा १३ सरकारी सुरक्षाकर्मी मारिएको बताएको छ।
यसअघि बुधबारको आक्रमणमा २ सयभन्दा बढी मानिस मारिएको र हजारभन्दा बढी व्यक्ति घाइते भएको लेबननले जनाएको छ।