मेची इन्डष्ट्रिजको आईपीओ तयारी तीव्र

काठमाडौं । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र संस्थागत परामर्शदाताको रूपमा नियुक्त गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो । यस सम्बन्धमा आज आयोजित एक कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष पवन घिमिरेबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापन, धितोपत्र खरिद प्रत्याभूति, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श तथा शेयर रजिस्ट्रार सेवा प्रदान गर्दै आएको छ ।

मेची इन्डष्ट्रिज लिमिटेड झापाको दमक–ताराबारी क्षेत्रमा महेन्द्र राजमार्गदेखि करिब २०० मिटर भित्र आफ्नै स्वामित्वको जग्गामा सञ्चालनमा रहेको उत्पादनमूलक उद्योग हो । कम्पनीले बालुवा, सिमेन्ट र चुनजस्ता स्वदेशी कच्चा पदार्थ प्रयोग गरी अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लक उत्पादन गर्दै आएको छ ।

हलुका, वातावरणमैत्री तथा परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुने यी ब्लकहरूको वार्षिक उत्पादन क्षमता हाल २१ लाख ६० हजार थान रहेको कम्पनीले जनाएको छ । उच्च चापयुक्त बाफ प्रविधिबाट उत्पादन गरिने यी ब्लक ताप तथा अग्नि प्रतिरोधीसमेत छन् ।

यसका अतिरिक्त कम्पनीले एएसी ब्लक जडानका लागि आवश्यक पदार्थ, रेडिमिक्स प्लास्टर तथा वालपुट्टी उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिनरी जडान कार्यलाई तीव्रता दिएको छ । यी उत्पादनहरू निकट भविष्यमै बजारमा उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ ।