आयाल निगमले महँगिने बेला रातारात भाउ बढाउने तर सस्तो हुँदा ढिलाइ गर्ने ?

नेपाल आयल निगम oil noc petrol

नेपाल आयाल निगमले महँगिने बेला रातारात भाउ बढाउने तर सस्तो हुँदा अनेक बहाना बनाएर ढिलाइ गर्ने परिपाटीले अहिले उपभोक्तालाई रुष्ट बनाएको छ ।

कच्चा तेलको मूल्य घट्दा पनि प्रशोधित तेलमा त्यसको प्रभाव नदेखिँदा सस्तो तेल कहिले प्रयोग गर्न पाइन्छ भन्ने प्रश्न सर्वसाधारणको छ ।

त्यतिमात्र नभई वैशाख ३ गते पुनः डिजेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँले मूल्य बढाइएको थियो ।
लगातारको मूल्यवृद्धिका कारण १ चैतअघि प्रतिलिटर १ सय ५७ रुपैयाँ रहेको पेट्रोल २ सय १९ रुपैयाँसम्म पुगेको थियो ।

त्यसैगरी १ सय ४२ रुपैयाँ रहेको डिजेल र मट्टितेल २ सय ३७ रुपैयाँ, १२७ रुपैयाँको हवाई इन्धन २ सय ६९ रुपैयाँ र प्रतिसिलिन्डर १९ सय १० रुपैयाँ रहेको खाना पकाउने ग्यास २१ सय १० रुपैयाँसम्म पुर्‍याइएको थियो ।

अन्तराष्ट्रिय बजारको तथ्यांक हेर्दा गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला सुरु गरेपछि आकासिएको कच्चा तेलको मूल्यमा यस साता उल्लेख्य गिरावट आएको छ ।

युद्ध सुरु हुनुअघि प्रतिब्यारल ७६ अमेरिकी डलरको हाराहारीमा रहेको ब्रेन्ट क्रुडको मूल्य मध्यपूर्वको तनाव उत्कर्षमा पुग्दा कुनै समय ११० डलरभन्दा माथि पुगेको थियो । तर, पछिल्लो समय युद्धविरामको अवस्था र अवरुद्ध व्यापारिक मार्ग सुचारु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि युद्धअघिकै अवस्थाभन्दा तल झरेको छ ।

आज शनिबार जुन २७ को पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारल ७२ डलरको आसपासमा कारोबार भइरहेको छ ।

यसको मूल्य हाल ७२ देखि ७३ डलरको बीचमा तलमाथि गरिरहेको छ । त्यस्तै क्रुड आयल मूल्य पनि घटेर प्रतिब्यारल ६९ देखि ७० डलरको हाराहारीमा आइपुगेको छ ।

विश्वबजारमा कच्चा तेलको आपूर्तिमा देखिएको असहजता क्रमशः हट्दै जानु नै मूल्य घट्नुको मुख्य कारण बनेको छ । विशेषगरी, फेब्रुअरीदेखि इरानसँगको द्वन्द्वका कारण अवरुद्ध बनेको ‘स्ट्रेट अफ होर्मुज’ को बाटो हुँदै हुने तेलको ढुवानी पुनः सुचारु भएपछि बजारमा ठूलो राहत महसुस गरिएको छ ।

अघिल्लो महिनाको तुलनामा ब्रेन्ट क्रुडको मूल्यमा २० प्रतिशतभन्दा बढीको गिरावट आइसकेको छ । विश्वबजारमा मूल्य बढ्दा तत्कालै नेपालमा भाउ बढाउने नेपाल आयल निगमले अहिले मूल्य घटेको समयमा भने प्राविधिक कारण देखाउँदै तत्काल मूल्य नघटाउने अडान लिएको देखिन्छ ।

२०८२ को चैत महिनामा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको बाहना बनाउँदै एकै महिनामा ५ पटकसम्म इन्धनको मूल्य बढाएको निगम अहिले भने ३० जुनमा भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्यसूचीको पर्खाइमा छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आउने नयाँ मूल्यसूची प्राप्त भएपछि मात्रै मूल्य घटाउने विषयमा आधिकारिक निर्णय हुने निगमको तर्क छ ।

नियमित कार्यतालिका अनुसार नयाँ मूल्य आएपछि सञ्चालक समितिको बैठक बसेर उपभोक्ता मूल्यको बारेमा निर्णय लिइने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

उनले भने, ‘हवाई इन्धन र एलपी ग्यासको मूल्य महिनामा एक पटक मात्र प्राप्त हुन्छ भने पेट्रोल र डिजेलको हकमा महिनाको दुई पटक १ र १६ तारिखमा) नयाँ मूल्य आउने गर्छ,’ । नियमानुसार अब असार १६ गतेमात्र मूल्य थाहा हुने छ । त्यसो भए विदेशमा बढ्दा नेपालमा लगातार किन पेट्रोलयम पदार्थको मूल्य बढ्छ भनेर सोध्या उनले समयानुसारको हो भनेर जिद्धि गरे ।

नयाँ मूल्यसूची आएपछि मात्रै निगमले मूल्य समायोजनको प्रक्रिया अघि बढाउने भएकाले नयाँ मूल्य प्राप्त भएपछि सञ्चालक समितिको बैठक बस्छ, घटेर आएको छ भने त्यही अनुसारले मूल्य समायोजन निगमको दाबी छ ।

अहिले १५ दिने कार्यतालिकाको कुरा गर्ने निगमको कार्यशैली गत चैत र वैशाखमा भने ठिक उल्टो थियो ।

गत चैत महिनामा आईओसीले जम्मा दुई पटक मात्र मूल्य बढाएर पठाएको थियो, तर निगमले भने १ चैतमा २ गतेदेखि लागु हुने गरी मूल्य बढायो । त्यसपछि क्रमशः ११, १७, १९ र २६ गते गरी पाँच पटकसम्म मूल्यवृद्धि गरेको थियो ।