काठमाडौं । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ ।
सेयर निष्काशनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । यस सम्बन्धमा आज आयोजित एक कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिजका अध्यक्ष पवन घिमिरेबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग, नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श तथा शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ ।
मेची इन्डष्ट्रिज झापाको दमक–ताराबारी क्षेत्रमा महेन्द्र राजमार्गदेखि करिब २०० मिटर भित्र आफ्नै स्वामित्वको जग्गामा सञ्चालनमा रहेको उत्पादनमूलक उद्योग हो । कम्पनीले बालुवा, सिमेन्ट र चुनजस्ता स्वदेशी कच्चा पदार्थ प्रयोग गरी अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लक उत्पादन गर्दै आएको छ ।
हलुका र वातावरणमैत्री यी ब्लकहरू परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुँदै आएका छन् । कम्पनीको हाल वार्षिक उत्पादन क्षमता २१ लाख ६० हजार थान रहेको छ । उच्च चापयुक्त बाफ प्रविधिबाट उत्पादन गरिने यी ब्लकहरू ताप तथा अग्नि प्रतिरोधीसमेत रहेका छन् ।
यसका साथै कम्पनीले एएसी ब्लक जडानका लागि प्रयोग हुने टाँस्ने पदार्थ, रेडिमिक्स प्लास्टर तथा वालपुट्टी उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिनरी जडान कार्यलाई तीव्र बनाएको छ । यी उत्पादनहरू निकट भविष्यमै बजारमा ल्याउने कम्पनीको लक्ष्य रहेको छ ।
