सेयर बजारलाई नयाँ गति दिने सुधार लागू

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। नयाँ व्यवस्था सोमबारदेखि लागू हुने बताइएको छ।

नयाँ प्रावधानअनुसार अब सूचीकृत कम्पनीहरूको सेयर मूल्य एकै दिन अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ। यसअघि यो सीमा १० प्रतिशत मात्र रहेको थियो। बजारलाई अझ चलायमान बनाउने र मूल्य निर्धारणलाई यथार्थपरक बनाउने उद्देश्यले सीमा बढाइएको नेप्सेले जनाएको छ।

यसैगरी, बजार खुल्नुअघिको प्रि–ओपन सेसनमा मूल्य परिवर्तनको सीमा पनि परिमार्जन गरिएको छ। पहिले २ प्रतिशत रहेको सीमा अब ५ प्रतिशत पुर्‍याइएको छ। यसले बजार खुल्ने समयमा हुने अत्यधिक उतारचढाव नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरल बनाइएको छ। अब तीन तहको सट्टा दुई तहको मात्र प्रणाली रहनेछ। कारोबार सुरु भएको दुई घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोक्ने व्यवस्था गरिएको छ। यदि सूचक ८ प्रतिशतले घटबढ भएमा सो दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ। यसअघि ४, ५ र ६ प्रतिशतका तीन तहको प्रणाली लागू थियो।

नयाँ व्यवस्थाले बजारमा हुने अनावश्यक अवरोध घटाउँदै कारोबारलाई सहज र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

यसैबीच, नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियालाई पनि थप पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गरेको छ। वैशाख १ देखि लागू भएको नयाँ व्यवस्थाअनुसार आईपीओ आवेदन दिने कम्पनीहरूको वित्तीय अवस्था लेखा विशेषज्ञबाट अनिवार्य रूपमा पुनरावलोकन गरिनेछ।

बोर्डका अनुसार कम्पनीहरूको पछिल्लो तीन वर्षको लेखापरीक्षण विवरण अनिवार्य रूपमा जाँचिनेछ। कुल बिक्रीको ७५ प्रतिशतभन्दा बढी रकम उठ्न बाँकी भए पुनरावलोकन आवश्यक हुनेछ। उत्पादनमूलक क्षेत्रमा यो सीमा ७५ प्रतिशत र होटल तथा पर्यटन क्षेत्रमा ५० प्रतिशत तोकिएको छ।

बोर्डले विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै वित्तीय सूचकहरू निर्धारण गर्दै आईपीओ प्रक्रियालाई अझ विश्वसनीय र सुदृढ बनाउने प्रयास गरेको जनाएको छ।