याम्बालिङ्ग हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुल्दै

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले बैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर खुला गर्न लागेको हो।

कम्पनीले यस चरणमा १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २१ हजार कित्तासम्म आवेदन गर्न सक्नेछन्।

आईपीओ छिटोमा बैशाख २२ गते र ढिलोमा बैशाख ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकिएको छ।

त्यस्तै, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर पनि पहिले नै बाँडफाँड भइसकेको कम्पनीले जनाएको छ।